काठमाण्डु-स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न हुँदैछ ।
निर्वाचन आयोगले हिजो सूचना जारी गर्दै २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ताका लागि आह्वान गरेको हो ।
स्थानीय तहमा ३९ रिक्त पदमा उपनिर्वाचन हुँदैछ । मेयर, उपमेयरदेखि जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्मका रिक्त पदमा परिपूर्तिका लागि निर्वाचन हुन लागेको हो ।
आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।
निर्वाचन हुन लागेका स्थानमा २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले २४ स्थान, माओवादीले पाँच, एमालेले आठ, जसपाले एक र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए ।
निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष तीन र ३० वडाध्यक्षका लागि निर्वाचन हुन लागेको हो । आयोगका अनुसार अन्तिम मतदाता नामावली प्रकाशित भएको मितिसम्ममा यी कुनै पद रिक्त भएमा १६ मंसिरमै उपनिर्वाचन हुनेछ ।
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
ओखलढुंगा र कैलालीका जिसस प्रमुख रिक्त छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्ता छ । झापाको कन्काई नगरपालिका– ६, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा गाउँपालिका– १२, बेलका नगरपालिका– ८, सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४, रौतहटको राजपुर– ६, गढीमाई नगरपालिका– ८, काठमाडौंको कीर्तिपुर नगरपालिका– १ र ४, काठमाडौं महानगरपालिका– १६, नुवाकोटको ककनी गाउँपालिका– २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, गुल्मीको मुसिकोट नगरपालिका– १, रोल्पाको रुन्टिगढी गाउँपालिका– ४, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४, दैलेखको दुल्लु नगरपालिका– १३, कालीकोटको तिलागुफा नगरपालिका– ४, जाजरकोटको कुसे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५, बझाङको सुर्मा गाउँपालिका– ४, डोटीको पूर्वीचौकी गाउँपालिका– ६, दार्चुलाको दुहुँ गाउँपालिका– ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।




प्रतिक्रिया