चीन नेपालको छिमेकी मात्र होइन, असल साथी पनि हो : वनमन्त्री बस्नेत

चीन नेपालको छिमेकी मात्र होइन, असल साथी पनि हो : वनमन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत यु होङले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शुक्रबार बिदाई भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भयो । भेटमा मन्त्री बस्नेतले चीन नेपालको छिमेकी मात्र नभई असल साथी भएको बताए । नेकपाको सरकार बनेपछि नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ थियो ।

‘नेपालमा दुई तिहाइको कम्युनिष्ट सरकार बनेपछि दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको छ’, मन्त्री बस्नेतले भने, ‘चीन नेपालको छिमेकी मात्र होइन, असल साथी पनि हो । चीनको नेपालप्रतिको सकारात्मक नीति र व्यवहारको नेपाल सरकार र नेपाली जनता प्रशंसा गर्न चाहन्छौं ।’

मन्त्री बस्नेतले नेपालमा चिनियाँ लगानी आउने क्रम बढेकामा सन्तोष व्यक्त गर्दै लगानी मैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको स्पस्ट पारे । लगानीसँगै नेपालमा चिनियाँ पर्यटकको संख्यामा समेत उल्लेख्य वृद्धि भएको र त्यसले दुई देशबीच कूटनीतिक मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध पनि सुदृढ भएको उनको भनाइ थियो । ‘यो दुवै देशका लागि खुसीको कुरा हो’, मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले राजदूत होङको कार्यकालमा तीनवटै तहका निर्वाचन सम्पन्न भएको स्मरण गर्दै नेपाल र नेपालीको अप्ठेरा, चाहना र सम्भावना बुझेको कुटनीतिज्ञका रुपमा नेपाल र नेपालीले उनलाई स्मरण गरिरहने बताए । मन्त्री बस्नेतले बाँसजन्य उद्योग र जडिबुटीको उत्पादन तथा प्रशोधनका लागि नेपालले चीनसँग सहकार्य गर्ने र त्यसका लागि सकारात्मक वातावरण बनेको चर्चा गरे ।

यस्तै राजदूत होङले कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाइको बलियो सरकार बनेसँगै नेपाल स्थायित्व र विकासको मार्गमा अघि बढेको भन्दै खुसी व्यक्त गरेकी छन् । पछिल्लो तीन वर्षमा नेपालमा चिनियाँ लगानी ६ सय ३५ प्रतिशतले वृद्धि भएको तथ्यांक उल्लेख गर्दै राजदूत होङले चिनियाँ कम्पनीका लगानीमा निर्माणधीन विकास आयोजनाका काममा सहजीकरण गरिदिन सरकारको ध्यानाकर्षण गराइन् । मन्त्री बस्नेतले वन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रुख कटानका कारण आयोजनाका काममा हुने गरेका ढिलाई अन्त्य भएकामा उनले खुसी व्यक्त गरिन् ।

‘मेरो दुई वर्षको कार्यकालमा मैले नेपालमा तीनैतहको निर्वाचन र कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार गठन भएको जस्ता घटनाक्रमलाई नजिकबाट निकाल्ने अवसर पाएँ’, राजदूत होङले भनिन्, ‘नेपाल स्थायित्व र विकासको मार्गमा अघि बढेको छ । यो नेपालका लागि ऐतिहासिक अवसर हो ।’ प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएका सहमतिहरुको कार्यान्वयन सुरु भएको पनि राजदूत होङले बताइन् । राजदूत होङ दुई वर्षे कार्यकाल पूरा गरी यसै महिना चीन फर्कंदै छिन् ।