अमेरिकी प्रतिबन्धमा परेको रुसी सैन्य विमान इजरायल पुग्यो, अवतरणको उद्देश्य खुल्न बाँकी

अमेरिकी प्रतिबन्धमा परेको रुसी सैन्य विमान इजरायल पुग्यो, अवतरणको उद्देश्य खुल्न बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाको प्रतिबन्धमा रहेको रुसी रक्षा मन्त्रालय अन्तर्गतको एउटा सैन्य विमान इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

उडान अनुगमनसम्बन्धी वेबसाइट फ्लाइटराडार २४ को तथ्यांकअनुसार रुसी रक्षा मन्त्रालयको २२३औँ उडान इकाइअन्तर्गत रहेको टुपोलेभ टीयु–१५४एम विमान आईतबार साँझ इजरायल पुगेको हो ।

आरए–८५०४२ दर्ता नम्बर रहेको विमान मस्को नजिकैको च्कालोभ्स्की सैन्य हवाई अड्डाबाट उडेको थियो । विमान कृष्ण सागर पार गर्दै टर्कीको हवाई क्षेत्र भएर भूमध्यसागरबाट इजरायली हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।

त्यसपछि मध्य इजरायलमाथि केहीबेर चक्कर लगाएर स्थानीय समयअनुसार साँझ करिब ७ बजे बेन गुरियन विमानस्थलमा अवतरण गरेको हो । अमेरिकी विदेश मन्त्रालयले सन् २०२३ मेमा उक्त विमान सञ्चालन गर्ने रुसी रक्षा मन्त्रालयको २२३औँ उडान इकाइलाई प्रतिबन्धको सूचीमा राखेको थियो । त्यही क्रममा इकाइसँग सम्बन्धित ३७ वटा विमानमाथि पनि प्रतिबन्ध लगाइएको थियो ।

वाग्नरसँगको सम्बन्धका कारण प्रतिबन्ध

अमेरिकी विदेश मन्त्रालयले सन् २०२३ मे १९ मा रुसमाथि थप प्रतिबन्ध घोषणा गर्दै २२३औँ उडान इकाइलाई पनि प्रतिबन्धको सूचीमा राखेको थियो । अमेरिकी सरकारका अनुसार इकाइले रुसी निजी सैन्य समूह वाग्नरका लडाकु तथा सैन्य सामग्री समूहले गतिविधि सञ्चालन गरेका विभिन्न देशमा ओसारपसार गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयले इकाइलाई रुसी राष्ट्रपति, सरकार तथा रक्षा मन्त्रालयका लागि यात्रु र मालसामान ओसारपसार गर्ने सरकारी हवाई सेवा निकायका रूपमा व्याख्या गरेको छ ।

प्रतिबन्ध घोषणासँगै त्यस इकाइसँग सम्बन्धित ३७ वटा विमानलाई अमेरिकी प्रतिबन्धअन्तर्गतको सम्पत्तिका रूपमा सूचीकृत गरिएको थियो । आरएए–८५०४२ पनि त्यही सूचीमा परेको थियो ।

वाग्नर समूह रुसको निजी सैन्य संगठन हो, जसले युक्रेन युद्धमा रुसी सेनासँग मिलेर लडाइँ गरेको थियो । यसले अफ्रिकाका माली, लिबिया र मध्य अफ्रिकी गणतन्त्रलगायत देशमा पनि सैन्य तथा सुरक्षा गतिविधि सञ्चालन गरेको थियो ।

सन् २०२३ जुनमा वाग्नर प्रमुख येभगेनी प्रिगोजिनले रुसी सैन्य नेतृत्वविरुद्ध विद्रोहको प्रयास गरेका थिए । त्यसको केही समयपछि अगस्ट २०२३ मा विमान दुर्घटनामा उनको मृत्यु भएको थियो ।

विमान अवतरणको उद्देश्य खुल्न बाँकी

रुसी रक्षा मन्त्रालयसँग सम्बन्धित र अमेरिकी प्रतिबन्धमा परेको विमान इजरायल पुगे पनि त्यसको उद्देश्यबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

द जेरुसेलम पोस्टका अनुसार विमानमा को सवार थिए ? त्यसको भ्रमणको उद्देश्य के थियो ? भन्नेबारे इजरायलस्थित रुसी दूतावासले टिप्पणी गर्न अस्वीकार गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले पनि यस विषयमा प्रतिक्रिया दिएको छैन ।

उडान विवरणअनुसार विमान २ नोभेम्बरमा साइबेरियाको नोभोसिबिर्स्कबाट मस्को फर्किएको थियो । त्यसपछि ८ नोभेम्बरमा इजरायलका लागि उड्नुअघि मस्कोमै रहेको देखिन्छ ।

रुस र इजरायलबीच सिरिया, मध्यपूर्वको सुरक्षा अवस्था तथा क्षेत्रीय कूटनीतिका विषयमा लामो समयदेखि सम्बन्ध र रणनीतिक सम्पर्क रहँदै आएको छ ।

युक्रेन युद्धपछि रुसमाथि पश्चिमा मुलुकले लगाएका प्रतिबन्ध र मध्यपूर्वमा विकसित भइरहेका नयाँ शक्ति समीकरणका कारण २ देशबीचको सम्बन्ध पनि अन्तर्राष्ट्रिय चासोको विषय बन्दै आएको छ ।

यद्यपि अमेरिकी प्रतिबन्धमा रहेको विमान इजरायलमा अवतरण गर्नु आफैँमा प्रतिबन्ध उल्लंघन भएको प्रमाण होइन । अमेरिकी प्रतिबन्धको प्रत्यक्ष कानुनी प्रभाव अमेरिकी अधिकार क्षेत्र र अमेरिकी व्यक्तिहरूमाथि पर्छ ।

इजरायलले विमानलाई अवतरण अनुमति दिनुको कारण वा त्यससम्बन्धी कुनै विशेष व्यवस्था गरेकोबारे कुनै  जानकारी आएको छैन ।