काठमाण्डु-मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन बुधवार साँझबाट खुलेको छ ।
गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौँ आवतजावत गर्ने गरिन्छ ।
वर्षाका कारण सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिवारदेखि अवरुद्ध थियो ।
सडकमार्ग खुलेपछि दसैँका लागि जिल्ला भित्रिने मानिस र खाद्यान्नलगायत अन्य सामग्रीका लागि सहज भएको छ । यसअघि खुर्कोटको पुल निर्माण नहँुदा पनि रामेछापवासी यही बाटो भएर मन्थली–काठमाडौँ आवतजावत गर्थे ।
काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान एक सय २६ किमी पार गर्नुपथ्र्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली–काठमाडाँैका लागि दुई सय किलोमिटर यात्रा गर्नुपर्छ । रासस




प्रतिक्रिया