काठमाण्डु-सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा फिर्ता लिने बताएका छन् ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार घिमिरेको प्रतिवेदनमा बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा अगाडि बढेको छ । मुद्दाको पहिलो पेसी कात्तिक १ का लागि तोकिएको छ ।
यसैबीच रिट निवेदक निवेदक घिमिरेले मुद्दा फिर्ता लिने बताएका छन् । उनले आफूमाथि दबाब आएको संकेत गर्दै मुद्दा फिर्ताका लागि निवेदन दिने जनाएका छन् ।
अदालत खुला भएपछि औपचारिक रूपमा बारका अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ताका लागि निवेदन दिने उपरजिस्ट्रार घिमिरेले बताए । उनले कार्तिक १ मा अदालत खुलेको दिन मुद्दा फिर्ताको निवेदन दिने बताए ।
‘अदालत खुलेपछि आफ्ना भनाईसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिनँ,’ घिमिरेले भने । घिमिरेले बारका अध्यक्षविरुद्धको अवहेलना मुद्दामाथि तत्काल सुनुवाइ नभएकामा पनि असन्तुष्टि जनाएका छन् ।
सर्वोच्च अदालत प्रशासनले असोज १४ मा बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलनाको मुद्दा दर्ता गरेको थियो । न्यायपरिषद्को न्यायाधीश सिफारिससम्बन्धी निर्णयमाथि आलोचना गरेको विषयलाई लिएर बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको थियो । अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च प्रशासनले अवहेलना मुद्दा दर्ता गरेपछि नेपाल बार एसोसिएसनले संस्थागत रूपमा अध्यक्षविरुद्धको मुद्दा लड्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया