इजरायल-हमास युद्धको एक वर्ष : कहाँ छन् विपिन जोशी ?

इजरायल-हमास युद्धको एक वर्ष : कहाँ छन् विपिन जोशी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-इजरायल र हमासबीच युद्ध चलेको आज एक वर्ष पुगेको छ ।

युद्ध सुरु भएको पहिलो दिन नै इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा ज्यान गुमाए भने केही घाइते भए । सोही क्रममा हमास समूहले नियन्त्रणमा लिएको भनिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।
हमासको आक्रमणमा परेर उद्धार गरेर नेपाल ल्याइएका विद्यार्थीहरूका अनुसार हमासले नेपाली विद्यार्थी बसेको क्याम्पमा फ्याँकेको ग्रिनेड टिपेर विपिनले बाहिर फालिदिएका थिए । तर लगत्तै उनी हमासको नियन्त्रणमा परे ।

हमास हमलामा १० नेपाली विद्यार्थीसहित करिब १२ सय जनाको मृत्यु भएको थियो । हमासको आक्रमणमा नौ नेपाली विद्यार्थी घाइते पनि भएका थिए । ती विद्यार्थीहरूलाई सरकारले उद्धार गरी स्वदेश ल्याएका थिए ।

हमासले विपिनसहित विभिन्न देशका करिब साढे दुई सयलाई बन्धक बनाएर लगेको थियो । विपिन हमासको नियन्त्रणमा रहेको इजरायली सुरक्षा बल (आईडीएफ) ले पुष्टि गरेको थियो । तर उनी कुन अवस्थामा कहाँ छन् भन्नेबारे केही खुलेको छैन । अस्थायी युद्धविरामका बेला हमासले विभिन्न चरणमा १ सय ५ बन्धकलाई मुक्त गर्दा विपिन भने परेनन् ।

आग्रहमाथि आग्रह

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएका हुन् । उनी बेपत्ता भएको एक वर्ष पूरा हुँदा पनि उनको अवस्थाका बारेका कसैलाई जानकारी छैन ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा परेका हुन् ।

बितेको एक वर्षदेखि विपिनको परिवारले उनको अवस्था पत्ता लगाई स्वदेश फिर्ताका लागि सरकार र राष्ट्रिय, अन्तर्राष्ट्रियनिकायसँग गुहार लगाए पनि अहिलेसम्म उनको अवस्था के हो थाहा हुन सकेको छैन ।

विपिनको खोजीका लागि इजरायलस्थित नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन । बन्धक बनाइएको भनिएका विपिनलाई हमासले न एक वर्षसम्म सार्वजनिक गरेको छ न त उद्धार नै हुन सकेको छ ।

विपिन सम्पर्कविहीन भएकै अवस्थामा एउटा दसैँ–तिहार गएर फेरि अर्को आउन थालेको छ । तर, जोशीको घरमा भने सन्नाटा छ ।

विपिनबिनाको चाडपर्व यस वर्ष पनि मनाउने रहर उनको घरमा छैन । भाईको अवस्था पत्ता नलाग्दा आफ्नो परिवार विक्षिप्त बनेको उनका दाइ किशोर जोशी बताउँछन् । जोशी परिवारमा विपिन फिर्ता आउने आशा भने अझै जीवित छ ।

यसबीचमा नेपालमा दुई प्रधानमन्त्री र तीन परराष्ट्रमन्त्री भए । राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै विपिनका परिवारले उनको उद्धारका लागि अनुरोध गरिसकेको छ । तीनै जना परराष्ट्रमन्त्रीलाई पनि सोही आग्रह गरियो ।

बितेको एक वर्षमा विपिनको परिवारले इजरायली राष्ट्रपति आइजेक हर्जोकसँग भर्चुअल कुराकानी पनि गरिसकेका छन् । नेपालस्थित इजरायली राजदूत हनान गोदारसँग पनि पटकपटक भेट भइसकेको छ । गोदार विपिनको घरमै पुगेर पनि उनको रिहाइको पहल गरिरहेको बताएका थिए । तर अहिलेसम्म विपिनको अवस्था अज्ञात नै छ ।

तर हमासको कब्जामा परेको भनिएको अर्को महिना गाजाको अल–शिफा अस्पतालको एउटा सीसीटीभी उनीजस्तै एउटा व्यक्ति देखिएको भनिए पनि जोशीको अवस्था हालसम्म अज्ञात छ ।

विपिन जोशी सम्पर्कविहीन भएको यो एक वर्षमा परराष्ट्रमन्त्री भएका तीन जनामध्ये दुई जना सुदूरपश्चिमकै छन् । उनी बेपत्ता हुँदा कञ्चनपुरकै प्रतिनिधिसभा सदस्य एनपी साउद परराष्ट्रमन्त्री थिए । वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सुदूरपश्चिमकै हुन् । अहिले त्यही क्षेत्रबाट रमेश लेखक गृहमन्त्री छन् ।

विपिनका परिवारले साउदलाई सबैभन्दा बढि आग्रह गरेको थियो । त्यसपछि परराष्ट्रमन्त्री बनेका नारायणकाजी श्रेष्ठलाई पनि भेटे र आग्रह गरे । वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि उनीहरूले आग्रह गरिसकेका छन् ।

सबैले विपिनको रिहाइका लागि सक्दो पहल भइरहेको आश्वासन दिए । तर, रिहाइ कहिले हुने हो थाहा छैन ।

अहिले जोशी परिवारलाई विपिनको रिहाइका लागि नेपाल सरकारको पहल नपुगेको लाग्न थालेको छ । सरकारी प्रयास पर्याप्त नभएकै कारण विपिन पहिलो इजरायल–हमास वार्ताका क्रममा नछुटेको परिवारका सदस्यहरू बताउँछन् ।

गत साता परराष्ट्रमन्त्री डा. राणाले विपिनको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी थिइन् । असंलग्न राष्ट्रहरूको संगठन नामको मन्त्रिस्तरीय बैठकलाई न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।

सरकारले इजरायलका लागि सिफारिस गरेका नयाँ राजदूत धनप्रसाद पण्डित संसदीय सुनवाइका क्रममा पनि विपिनको रिहाईका लागि पहल गर्ने बताएका थिए ।

सरकारले इजरायली दूतावासलाई लामो समयसम्म राजदूतविहीन राख्दाको असर आफ्नो विपिनको रिहाइमा परिरहेको उनको परिवारलाई लागेको छ ।

विपिन फर्केर आउने प्रतीक्षामा परिवारले दुई वर्षअघि विपिनले छोडेर गएका लुगाफाटादेखि उनका प्रत्येक सामान सुरक्षित राखिरहेको छ । हमाससँग लडिरहेको इजरेल पछिल्लो समय लेबननमा हिज्बुल्लाहसँग लडिरहेको छ ।

उसको इरानसँग पनि तनाव चर्किँदै गएपछि हमासको कब्जामा रहेका विपिनको परिवारमा थप त्रास बढेको छ ।