काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल नेपाल जागिर खाने ठाउँ मात्र नभई राष्ट्र र जनताको सेवा र सुरक्षामा समर्पित रहने पवित्र संगठन भएको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा मंसिर २ गतेदेखि सञ्चालन हुने सि.सं. १९ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संगठनको गौरव र प्रतिष्ठा कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई अग्रजहरूको योगदान र वर्तमान पुस्ताको कर्म र भावी पुस्ताको जिम्मेवारीसँग जोडिएको साझा धरोहर रहेको बताए ।
सशस्त्र आईजीपी पौडेलले अनुशासन र आदेशको पालना फौजी संगठनको मेरुदण्ड भएको स्पष्ट पार्दै कानुनको शासन, मानवअधिकारको संरक्षण, असल आचरण, नैतिक व्यवहार, व्यावसायिक दक्षता एवं निरन्तर सिकाइलाई आत्मसात् गरी अघि बढ्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
उनले वर्तमान समयमा भूराजनीतिक प्रतिस्पर्धा, सीमा अपराध, संगठित अपराध, मानवबेचबिखन, लागूऔषध कारोबार, वित्तीय अपराध, साइबर सुरक्षा चुनौती, सूचना प्रविधिको दुरुपयोग, उग्रवाद र प्राकृतिक विपद् जस्ता विषयहरूले सुरक्षा व्यवस्थापनलाई जटिल पार्ने भएको हुँदा त्यस्ता परिप्रेक्ष्यको सही विश्लेषण गर्न सक्ने, प्रविधिमैत्री, दक्ष र परिणाममुखी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
आईजीपी पौडेलले सशस्त्र प्रहरी बल नेपाल देशका ७७ वटै जिल्लामा परिचालन भई उत्तरको हिमाली भूगोलदेखि दक्षिणको तराईका समथर फाँटहरूसम्म तथा पूर्वको ओलाङचुङगोलादेखि पश्चिम कञ्चनपुरको दोधाराचाँदनीसम्म अहोरात्र खटिएर राष्ट्र र नागरिकको सेवामा सदैव समर्पित रहेको बताए ।
उनले आधारभूत तालिम सेवा प्रवेशको औपचारिक प्रक्रिया मात्र नभई आफ्नो वृत्ति विकास र चुनौतीपूर्ण वातावरणमा सक्षम नेतृत्व प्रदान गर्न सक्ने अधिकृतका रूपमा रूपान्तरण हुने आधारशिला भएको चर्चा गर्दै कार्यक्षेत्रको वास्तविक स्थितिसँग मेल खाने गरी व्यावहारिक र यथार्थपरक प्रशिक्षण सञ्चालन गराउन समेत निर्देशन दिए ।
आईजीपी पौडेलले आफ्ना सन्ततिहरूलाई राष्ट्रसेवाको उच्च आदर्शबाट अभिप्रेरित गर्दैै राष्ट्रसेवामा समर्पित गराउन उत्प्रेरित गर्ने सम्पूर्ण अभिभावकहरूप्रति हार्दिक आभार प्रकट गर्दै सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना समेत व्यक्त गरे ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय परिसरभित्र वाटर रेस्क्यु सम्बन्धी तालिम प्रयोजनार्थ निर्माण गरिएको नवनिर्मित स्वीमिङ पुलको समेत उद्घाटन गरेका छन् ।
५६ हप्ता कार्य अवधिको तालिममा साधारण समूह, साधारण उपसमूहतर्फ ३५ जना र साधारण समूह, लेखा उपसमूहतर्फ २ जना गरी ३७ जना सशस्त्र प्रहरी निरीक्षकहरू सहभागी रहेको तालिममा ४ जना महिला सशस्त्र प्रहरी निरीक्षकहरू छन् ।
कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिति थियो ।



प्रतिक्रिया