रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी मंसिर १० मा विवाह गर्दै

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी मंसिर १० मा विवाह गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्।

उनीहरूले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका हुन्। ढकालले विवाह गर्न लागेको कुरा स्वीकार गरेका छन्।

उनको तयारीअनुसार मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापा जाने कार्यक्रम छ। विवाह समारोह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरमा हुने बताइएको छ। विवाहका लागि आवश्यक तयारीसमेत सुरु भइसकेको छ।

मुकुल र निशा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको उनीहरूका निकटस्थहरूलाई जानकारी भए पनि दुवैले सम्बन्धलाई सार्वजनिक गरेका थिएनन्। उनीहरूको टीकाटालोसमेत भइसकेको समाचार सार्वजनिक भएका छन्।

राजनीतिक वृत्तमा पनि उनीहरूको सम्बन्धबारे चर्चा हुँदै आएको थियो। मुकुल ढकाल र निशा डाँगी दुवै रास्वपाको राजनीतिमा सक्रिय रहे पनि उनीहरूको राजनीतिक यात्रा भने पछिल्लो समय फरक अवस्थामा पुगेको छ।

ढकाल रास्वपाका संस्थापक महामन्त्री तथा प्रवक्ता थिए। पार्टी सभापति रवि लामिछानेको कार्यशैली र पार्टी सञ्चालन प्रक्रियामाथि प्रश्न उठाउँदै उनले तयार पारेको समीक्षा प्रतिवेदनपछि पार्टीभित्र विवाद चर्किएको थियो।

२०८१ असारमा उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको थियो। त्यसपछि भदौमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो।

उता, निशा डाँगी रास्वपाकी नेतृका रूपमा पार्टीको केन्द्रीय नेतृत्वमा सक्रिय छिन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् भने २०८२ को निर्वाचनमा झापा-१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्।

हाल उनी पार्टीको सह-महामन्त्रीसमेत छिन्। राजनीतिक रूपमा फरक अवस्थाका यी दुई नेताले लामो समयदेखिको सम्बन्धलाई विवाहमार्फत औपचारिकता दिन लागेका हुन्।