बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – असोज १०–१२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको संख्या २४६ पुगेको छ ।

नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १७८ जना घाइते भएका छन् । १८ बेपत्ता रहेका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनका अनुसार कूल १७ हजार १७४ जनाको उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाण्डु उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै १३९ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये १७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए ।

मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपतकालीन राहत, पुनर्निर्माण र पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्री सहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनर्निर्माणलाई गति दिन निर्देशन दिएको उनले बताए ।

विभिन्न राजमार्गका अवरोध हटाएर वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्न लगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।