धुलिखेल – गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र आग्रह पूर्वाग्राहमा बसेर काम नगर्न आग्रह गरेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई सोमबार सम्बोधन गर्दै मन्त्री लेखकले पीडा कुनै एक पार्टीको मान्छेलाई मात्रै भएको नभई सबैको एउटै समस्या भएकाले विपद्लाई राजनीतिकरण नगर्न आग्रह गरे ।
सबै मिलेर काम गर्नुपर्ने अहिलेको अवस्था भएकाले विपद् र पीडामा परेकालाई राहत दिन सक्नुपर्नेमा जोड दिँदै मन्त्री लेखकले विपद्का बेलामा सबै मिलेर व्यवस्थित ढंगले काम गर्नुपर्ने बताए । खोजी र उद्धारको काम निरन्तर चलिरहने बताउँदै उनले अहिलेको अवस्था विस्तापित भएका, घर ध्वस्त भएर सुत्ने, खानेपानी, औषधी लुगाफाटोको व्यवस्था हुन नसकेकालाई राहतको व्यवस्था गर्ने चरणमा रहेको बताए ।
‘हामी अहिले अत्यावश्यक मानवीय सेवा सञ्चालन गर्नुपर्ने अवस्थामा छौं,’ उनले भने, ‘राहत, अवरुद्ध सडक सञ्चालन गर्ने, दूरसञ्चार सेवा, विद्युत्, स्वास्थ्य सेवा लगायतका कामलाई प्राथमिकता दिएर काम गर्न जरुरी छ ।’
विपद् व्यवस्थापनका लागि ४ वटा तह रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले संघमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संघमा विपद् व्यवस्थापन परिषद् र प्रदेशमा कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति र पालिकास्तरमा स्थानीय विपद् व्यवस्थापन समितिले सबैले आ–आफ्नो तहबाट समन्वयकारी भूमिका निर्वाह गरेर समस्याको समाधान गर्ने काम भइरहेको बताए ।
विपद्मा परेका परिवारलाई २ लाख राहत दिने भनेर सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित पालिकाले विवरण उपलब्ध गराएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल वितरण गर्ने र घर पूर्णरूपमा क्षति भएर अर्को बस्नयोग्य घर नभएकालाई स्थानीय तहले पहिचान गरेर सिफारिस गरेर पठाएको आधारमा ३ दिनभित्रमा अस्थायी घर निर्माणको लागि पहिलो किस्ता २५ हजार उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।
खाद्यान्नका लागि ५ जनासम्मको परिवार भएकालाई १५ हजार र त्यसभन्दा बढी भएमा ३० हजार रुपैयाँका दरले उपलब्ध हुने मन्त्री लेखकले जानकारी गराए । त्यसका लागि स्थानीय तह, प्रदेश र संघले आ–आफ्नो काम तत्काल गर्न उनले निर्देशन दिए ।
संकटग्रस्त क्षेत्र घोषणा गर्ने क्रममा काभ्रेपलाञ्चोकका केही पालिकामा मात्रै भएको र अरु पनि पालिका र वडाभित्र मात्रै भएको अवस्थामा त्यसलाई पनि समेट्नुपर्ने माग राखिएकामा मन्त्री लेखकले त्यसलाई प्रमुख जिल्ला अधिकारीबाट सिफारिस गरेर पठाउन आग्रह गरे । ‘अहिलेसम्म जति घोषणा भएका छन्, त्यसबाहेक थप पालिकालाई पनि विवरण प्राप्त भएपछि संकटग्रस्त क्षेत्र घोषणा गर्न सकिने भनेर निर्णय गरेको हुनाले छुटेकालाई प्रक्रियामार्फत आएको खण्डमा त्यसलाई समावेश गरिनेछ,’ उनले भने ।
उनले खाद्यान्न पुर्याउन बाटो नभएका पालिकामा पुर्याउनका लागि हेकिप्टरमार्फत व्यवस्थापन हुने जानकारी दिए । त्यससँगै गर्नुपर्ने क्षेत्रगत काम (विद्युत्, सडक, सञ्चार, खानेपानी र स्वास्थ्य)लाई तीव्रता दिन सम्बन्धित निकायलाई उनले निर्देशन दिए ।




प्रतिक्रिया