काठमाण्डु-अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी मिल्टनको चेतावनी दिइएको छ । आँधी आउन लागेको भन्दै दशौँ लाखभन्दा बढी मानिसहरूलाई उद्धारको आदेश दिइएको छ ।
उक्त आँधी सय वर्ष यताकै खराब हुने भविष्यवाणी गरिएको छ । दुई साताअघि मात्रै उक्त क्षेत्रमा हेलेन नामक अर्को आँधीले विध्वंस मच्चाएको थियो ।
आँधीका कारण शहरहरू शान्त देखिएका छन् र बसेको ठाउँ छाड्न दिइएको चेतावनी मानिसहरूले पालना गरिरहेका छन् । मौसमविद्हरूले हालैको ‘हरिकेन’ले पारेको प्रभावका कारण उक्त क्षेत्र यो भीषण आँधीबाट थप जोखिममा परेको उल्लेख गरेका छन् ।
बालुवाहरू आँधीले उडाएर ल्याउनसक्ने र भग्नावशेषहरूले हतियारको जस्तो असर पार्न सक्ने बताइएको छ ।
राष्ट्रपति जो बाइडनले फ्लोरिडाका मानिसहरूलाई जीवन मरणको सवाल भन्दै हरिकेन मिल्टन फ्लोरिडामा बज्रनु पूर्व नै त्यो क्षेत्र खाली गर्न आग्रह गरेका छन् ।
मौसम अधिकारीहरूले यस आँधीलाई ‘क्याटगरी’ पाँचको आँधीका रूपमा वर्गीकरण गरेका छन् । आँधीको वेग २७० किलोमिटर प्रतिघण्टा हुने भनिएको छ । मौसमविद्हरूले भीषण वर्षा, आकस्मिक बाढी, तीव्र आँधी र हुरीको चेतावनी पनि दिएका छन् ।
दुई साताअघिको हेलेन नामक आँधीले अमेरिकामा ६ राज्यमा गरेर कम्तीमा २२५ जनाको मृत्यु भएको थियो भनेसयौँ मानिसहरू अझै बेपत्ता छन् ।
मिल्टन आँधी फ्लोरिडा आइपुग्नुअघि उक्त राज्यका ६७ मध्ये ५१ वटा काउन्टीमा आपत्कालीन चेतावनीहरू दिइएको छ । मङ्गलवार सो आँधी केही कमजोर भए पनि बुधवार राति फ्लोरिडामा बज्रिनुअघि त्यसको आकार दोबर हुने अमेरिकाको नेशनल हरिकेन सेन्टरले चेतावनी दिएको थियो ।




प्रतिक्रिया