काठमाण्डु-रास्वपाका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पार्टीले आज पनि पोखरामा विरोधका कार्यक्रम जारी राखेका छन् ।
पोखराको शहीद चोकमा पार्टीले विरोधको कार्यक्रम राखेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । विरोध प्रदर्शनका लागि रास्वपाका नेताहरू पोखरा पुगिसकेका छन् ।
यसैबीच, पोखरामा सहकारी पीडितहरूले पनि प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरूले शुक्रवार र शनिवार पनि प्रदर्शन गरेका थिए ।
दुई समूहको प्रदर्शनलाई ध्यान दिँदै स्थानीय प्रशासनले पोखरामा सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रहरीले लामिछानेलाई आज अदालतमा उपस्थित गराउने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षको प्रदर्शन हुने सम्भावनालाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
रास्वपाका नेताहरूले लामिछानेलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरूले पनि अनुसन्धान र न्यायका निम्ति दबाब दिन भन्दै सम्पूर्ण पीडितलाई राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् ।
सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेका नेताहरूलेसमेत सर्वसाधारणलाई दबाब सभामा आउन आह्वान गरेका छन् । पोखराको राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
यी दुई चोक बीचको दुरी करिब एक सय मिटर मात्रै छ । दुबै पक्षलाई आमने–सामने हुनबाट रोक्ने प्रयासमा प्रहरीहरू खटाइएको छ ।




प्रतिक्रिया