रूसमा सेना पठाएको आरोप उत्तर कोरियाद्वारा अस्वीकार

रूसमा सेना पठाएको आरोप उत्तर कोरियाद्वारा अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उत्तर कोरियाले मस्कोलाई युक्रेनविरुद्ध लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको दाबी आधारहीन भएको दाबी गरेका छन् ।।

सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रूसलाई सहयोग गर्ने सेना तैनाथ गरेको तथा १ हजार ५०० सेना रूसमा प्रशिक्षण गराइरहेको जनाएको थियो ।

उनले रुससँगको सैन्य सहयोगको आधारहीन विषयमा आफ्नो प्रतिनिधिमण्डलले प्रतिक्रिया दिन आवश्यक महसूस नगरेको संयुक्त राष्ट्रसंघीय महासभा समितिको बैठकमा बताएका छन् ।

सियोलको दाबी उत्तर कोरियाको छवि बिगार्ने तथा सार्वभौम राज्यहरू बीचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई कमजोर पार्ने उद्देश्यले गरिएको समेत उनले बैठकमा उल्लेख गरे ।

विश्वयुद्धपछि उत्तर कोरियाको स्थापना भएदेखि नै प्योङयाङ र मस्को सहयोगी रहँदै आएको र सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अझ नजिक भई लामो समयदेखि किम जोङ–अनले रूसमा हतियार पठाउँदै आएको दाबी सियोल र वासिङ्टनले गर्दै आएका छन् ।

उत्तर कोरियाले भने सैन्य तैनाथीबारे कुनै टिप्पणी गरेको छैन भने रूसले पनि सेना तैनाथ भएको पुष्टि गरेको छैन ।

यद्यपि नेटो र अमेरिकाले पनि सेना तैनाथीको पुष्टि गरेका छैनन् तर दुवैले यसलाई लामो समयदेखि चलिरहेको युक्रेन द्वन्द्वमा सम्भावित खतरा वृद्धिको रूपमा लिएका छन् ।

उत्तर कोरियाले सेना पठाउने तयारी गरिरहेको रिपोर्टहरू आफूले देखेको सुरक्षा परिषद्लाई बताउँदै यो विषय सत्य भएमा यसले चिन्ताजनक स्थितिको संकेत गर्ने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत रोबर्ट वुडले बताए ।

सेनालाई तत्काल फिर्ता बोलाउन आग्रह गर्दै दक्षिण कोरियाली सरकारले उत्तर कोरियाको निन्दा समेत गरेको छ ।

उत्तर कोरियाले युक्रेनमा रुसको अवैध आक्रमणका लागि सेना पठाउनु आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागि समेत सुरक्षा खतरा भएको सुरक्षा परिषद्ले जनाएको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले सरकारी स्रोतलाई उदृत गर्दै सियोलले युक्रेनमा तैनाथ उत्तर कोरियाली सेनाको निगरानी गर्न कर्मचारीहरूको टोली पठाउने तयारी गरिरहेको जनाएको छ । योन्हापले रूस समर्थक टेलिग्राममा युक्रेनी भूमिमा रूसी र उत्तर कोरियाली झण्डा देखाउँदै फोटो पोस्ट गरेको समेत रिपोर्ट गरेको छ ।