राष्ट्रियसभा अध्यक्ष दाहाल र राष्ट्रिय दलित आयोग अध्यक्ष विकबीच भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष दाहाल र राष्ट्रिय दलित आयोग अध्यक्ष विकबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट गरि दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणबारे छलफल गरेका छन् ।

सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा आयोगका अध्यक्ष विकले दलित विकास प्राधिकरण र दलितको हक संरक्षण तथा विकासका सम्बन्धमा छुट्टै ऐन बनाउनका लागि सकारात्मक सहयोगको अपेक्षा गरेको बताए ।

भेटमा अध्यक्ष दाहालले राष्ट्रियसभामा दलित समुदायका हक अधिकारका विषयमा नियमित आवाज उठाउन आफूले सबै सदस्यहरुलाई प्रोत्साहित गरिरहेको भन्दै दलितका सवाल दलित सांसदले मात्रै नभई अन्य समुदायका सांसदहरुले पनि उठाउनु पर्नेमा जोड दिएको बताए ।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले उपसमिति गठन गरि दलितको हक संरक्षण र दलितको विकास सम्बन्धमा विधेयकको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी काम पनि द्रुत गतिमा अगाडि बढाउन आफूले पहल गर्ने अध्यक्ष दाहालले प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रियसभाले दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव पारित गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसको कार्यान्वयनका लागि आफूले पनि पटक पटक सम्बन्धित पक्षलाई सचेत बनाइरहेको बताए ।

विगतमा राजनीतिक आन्दोलनका क्रममा जातीय विभेद, छुवाछूत लगायतका कुप्रथा विरुद्ध सम्झौताहीन संघर्ष गरेको स्मरण गर्दै अध्यक्ष दाहालले कानुन निर्माणसँगै ती कानुनको प्रभावकारी कार्यान्वयनमा सबै तहका सरकार र राज्यका निकायको तदारुकता बढ्नुपर्नेमा जोड दिए ।