स्थानीय तह उपनिर्वाचनका उम्मेदवारले प्रचारमा कति खर्च गर्न पाउँछन् ?

स्थानीय तह उपनिर्वाचनका उम्मेदवारले प्रचारमा कति खर्च गर्न पाउँछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन २०८१ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरेको छ ।

आयोगले कात्तिक ७ गते खर्चको हद निर्धारण गरेको प्रवक्ता तथा सहसचिव नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि खर्चको हद निर्धारण गरिएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको उनले बताए ।

महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ७ लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ५ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ४ लाख ५० हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा ३ लाख ५० हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी तोकिएको छ ।

महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले ३ लाख रुपैयाँ, उपमहानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले २ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले जम्मा २ लाख रुपैयाँ र गाउँपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले जम्मा १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको छ ।