काठमाण्डु – नेपाली फूटबललाई व्यावसायिक बनाउने उद्देश्यसहित नेपाल फूटबल लीग (एनएफएल) आगामी फागुन महिनामा हुने भएको छ ।
विभिन्न ७ टोली सहभागी प्रतियोगितामा होम एन्ड अवेका आधारमा सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनएफएलका अध्यक्ष कल्याण गुरुङले जानकारी दिए । उनले नेपाली फूटबलमा नयाँ अध्याय सुरु गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
नेपाली फूटबलको इतिहास लामो भए पनि सफलता हासिल गर्ने क्रममा विभिन्न चुनौती रहेको उल्लेख गर्दै ती चुनौतीलाई अवसरमा बदल्न एनएफएलको अवधारणा अघि सारिएको अध्यक्ष गुरुङले उल्लेख गरे । लिगलाई पूर्ण व्यावसायिक प्रतियोगिताका रूपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको उनले बताए ।
करिब ४ महिना सञ्चालन हुने प्रतियोगितामा काठमाण्डु रेजर्स फूटबल क्लब, ललितपुर सिटी फूटबल क्लब, एफसी चितवन फूटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फूटबल क्लब, झापा एफसी र धनगढी एफसी सहभागी हुनेछन् ।
लिग सञ्चालनका लागि आवश्यक रंगशालाको उपलब्धता र अन्य तयारीलाई ध्यानमा राखेर प्रतियोगिता अघि बढाइने जनाइएको छ । अधिकांश रंगशाला सरकारको स्वामित्वमा रहेकाले एनएफएल सञ्चालनका लागि सरकारसँगको स्वीकृतिको प्रक्रिया अघि बढाइसकेको अध्यक्ष गुरुङले जानकारी दिए ।


प्रतिक्रिया