काठमाण्डु – आतंकवादीहरूले मंगलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेका छन् ।
‘२ आतंकवादीले पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । त्यसपछि प्रहरी टोलीले २ आक्रमणकारी र उनीहरूको स्थानीय सहजकर्तालाई पछ्याउँदै मारे,’ खैबर पख्तुनख्वा प्रान्तको ओराकजाई शहरमा भएको आक्रमणबारे वरिष्ठ प्रहरी अधिकारी मलिक सिकन्दर खानले भने ।
अर्का प्रहरी अधिकारी नवीद उल्लाह खानले पनि यी विवरणहरूको पुष्टि गरे । ‘आक्रमणको समयमा २ स्वास्थ्यकर्मी घरभित्र थिए र त्यसैले उनीहरू सुरक्षित रहे,’ उनले भने ।
ओराकजाई शहर पूर्व आदिवासी सीमावर्ती क्षेत्रको एक भाग हो । यो करीब १ दशकअघि तालिबान आतंकवादीहरूको शरणस्थल थियो र तालिबानलाई पछि सैन्य अभियानले जरैदेखि उखेलेको थियो ।
पाकिस्तान र छिमेकी अफगानिस्तान मात्र त्यस्ता मुलुक हुन्, जहाँ पोलियोको प्रकोप कायम छ र खोप टोलीहरूमाथि सुरक्षा बलहरूविरुद्ध अभियान चलाइरहेका आतंकवादीहरूले प्रायः आक्रमण गर्ने गर्छन् ।




प्रतिक्रिया