काठमाण्डु- चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबर सार्वजनिक भइरहेका बेला निर्माण टिमले कात्तिक २० गते (भोलि) देखि नै चलचित्र प्रदर्शन हुने स्पष्ट पारेको हो।
निर्माण टिमले विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन मिति परिवर्तन नभएको र देशभरका हलमा यथावत् प्रदर्शन हुने जनाएको छ।
‘हाम्रो चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गते (भोलि) देखि नै देशभरका सम्पूर्ण हलहरूमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ’, निर्माण टिमले विज्ञप्तिमा भनेको छ।
यसैगरी, निर्माण टिमले चलचित्रले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्याउने, अपमान गर्ने वा अवहेलना गर्ने उद्देश्य नराखेको स्पष्ट पारेको छ।
‘हामी सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्दछौँ। हाम्रो चलचित्रप्रति यहाँहरूले देखाउनुभएको माया, विश्वास, साथ र सद्भावप्रति उच्च सम्मान व्यक्त गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।
चलचित्रको अग्रिम बुकिङ बुधबारदेखि नै खुलिसकेको छ। बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि अभिनय छ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन्। यसको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन्।
लेखक पौडेलका अनुसार ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। यसमा महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ।
चलचित्रलाई श्याम तामाङले छायांकन गरेका छन्। सुप्रिम पराजुलीले सम्पादन तथा रङ्ग संयोजन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन र गम्भीर विष्ट तथा विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ।
चलचित्रमा डल्बी एटमस साउन्डको अनुभव लिन सकिने निर्माण टिमले जनाएको छ।
तिहारको अवसर पारेर कात्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउन लागेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले चलचित्रको देशव्यापी वितरण गर्नेछन्।


प्रतिक्रिया