सरकारले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्ने

सरकारले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले गुरुङमाथि अनुसन्धान गरिने र गैरकानुनी काम गरेको देखिएमा कारबाही गरिने बताएका हुन् ।

बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग गृहमन्त्री लेखकले भने, ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ । तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’

उनले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर सबैमाथि अनुसन्धान हुने बताए ।

ललितपुरको मितेरी सहकारीमा गुरुङकी पूर्वश्रीमती ज्योतीले रकम हिनामिना गरेको आरोप लागेको छ । ज्योति अहिले फरार छिन् । गुरुङले प्रतिनिधि सभा बैठकमा नै आफूमाथि अनुसन्धान गर्न माग गरेका थिए ।

कांग्रेस नेतासमेत रहेका लेखकले आफ्नै पार्टीका उपसभापति गुरुङमाथि छानबिन गर्ने बताएका हुन् ।

गृहमन्त्री लेखकले संसदीय विशेष छानबिन समितिको सिफारिस अनुसार पूर्वगृहमन्त्री रवि लामिछानेमाथि छानबिन भइरहेको बताए । गृहमन्त्री लेखकले भने, ‘एक जना व्यक्ति विशेषमा केन्द्रित भएको होइन । सहकारीको रकम हिनामिनामा धेरै मानिस काराबाही परेका छन् । केही मानिस न्यायिक हिरासतमा हुनुहुन्छ ।’

लाखौं मानिसको अर्बौं अपचलन भएको भन्दै गृहमन्त्री लेखकले बचत फिर्ता गर्ने र ठगी गर्नेहरुलाई कारबाही गर्ने सुनिश्चिता गर्न सरकार लागेको बताए ।