काठमाण्डु – भ्रष्टाचार प्रकरणमा मुछिएपछि निलम्बित भएका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले विशेष अदालतबाट सफाइ पाएका छन् ।
मुख्यसचिव अर्याल र एक निजी कम्पनीसहित १० जना प्रतिवादीले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट बुधबार सफाइ पाएका छन् । मुद्दामा विशेष अदालतले २ जना प्रतिवादीलाई दोषी ठहर गरेको छ ।
मुद्दामा विशेष अदालतले गत कात्तिक ५ गतेदेखि निरन्तर सुनुवाइपछि बुधबार फैसला सुनाएको छ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले अर्यालसहितलाई सफाइ दिने गरी फैसला सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचारमा ११ व्यक्ति र एउटा कम्पनीसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।
स्टिकर छपाइ प्रकरणमा अर्यालसहित सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्र पौडेल, सुरक्षण मुद्रणका तत्कालीन लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे, तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, स्टिकर छपाइ ठेक्का पाएको प्रिन्टसेल कम्पनी र सञ्चालक केशव शर्माले सफाइ पाएका छन् ।




प्रतिक्रिया