नेकपा अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेकपा अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा भेटवार्ता गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएको उनको सचिवालयले जनाएको छ । प्रचण्डले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सदभाव आवश्यक रहेको औंल्याएका थिए । अध्यक्ष प्रचण्डले जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिकता भएको पनि जानकारी गराए ।

रेण्डी डब्लु बेरी नेपालका लागि अमेरिकी राजदूतको जिम्मेवारीसहित हालै नेपाल आएका थिए । उनलाई प्रचण्डले कार्यसफलताको शुभकामना दिएका थिए । राजदूत बेरीलाई प्रचण्डले भनेको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘तपाईंको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।’ अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका थिए ।