हुम्ला – सिमकोट विमानस्थलमा ३ दिनपछि हवाई उडान पुनः सुरु भएको छ ।
मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन ।
नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ । सोमबार नेपालगञ्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् ।
सोमबार नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले १–१ पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ । दुवै एयरलाइन्सले नेपालगञ्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामान समेत ढुवानी गरेका थिए । अन्य सीता र समिट एयरले ३ दिनदेखि उडान भर्न सकेका छैनन् ।
नेपालगञ्जदेखि उडान भर्दै आएका जहाजले आफ्नो तालिकाअनुसार हुम्लामा उडान भर्दै आएका छन् । मंगलबारका लागि नेपालगञ्जदेखि नेपाल एयरलाइन्सले आफ्नो उडान तालिकाअनुसार उडान भर्ने भएको छ ।
नेपालीको महान् पर्व दशैं, तिहार सकिएसँगै सिमकोटबाट जिल्लाबाहिर जाने यात्रुको चाप बिस्तारै बढ्दै गएको छ । यो समयमा नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको बताइएको छ । सीता एयर र समिट एयरले भने सोमबार उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।




प्रतिक्रिया