पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले सोमबार दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारीसाधन आवत–जावत रोकिएको जानकारी दिए ।

वर्षा नरोकिएको, रात परिसकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न उनले आग्रह गरे । बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मंगलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख केसीले बताए ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका वासिन्दाका साथै घुम्न आएका पर्यटकहरू बीच बाटोमै रोकिएका छन् । मुस्ताङतर्फ जाने सवारीसाधनहरू बेनी र म्याग्दीतर्फ आउने सवारीसाधनहरू भुरुङ्ग–तातोपानीतर्फ फर्किएका छन् ।