ट्रम्पको पुनरोदयबाट हसिनालाई राहत, युनुस अप्ठ्यारोमा

ट्रम्पको पुनरोदयबाट हसिनालाई राहत, युनुस अप्ठ्यारोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएपछि त्यसको प्रभाव विश्वका सबै सानो ठूलो देशलाई परेको छ । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा रिपब्लिकन पार्टीका ट्रम्पको जिते विश्व राजनीतिमै प्रभाव पार्ने विश्लेषकहरूको धारणा छ ।

राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले कतिपय देशले सहजता महसुस गरेको छ भने कतिपय देशलाई भने रुचाइएको छैन । ट्रम्पको विजयकाबीच दक्षिण एशियाली देश बंगलादेशमा पनि यसको प्रभाव पर्ने जनाइएको छ ।

गत अगस्ट महिनामा बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भारतमा शरणार्थी बनेकी हुन् । हिंसात्मक आन्दोलनपछि बंगलादेशमा अहिले अन्तरिम सरकार छ र नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुस सरकारको प्रमुख सल्लाहकार भएर देश चलाइरहेका छन् ।

युनुसलाई अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनको विशेष व्यक्ति मानिन्छ । उनलाई यो भूमिकामा ल्याउनमा बाइडेन प्रशासन र डेमोक्रेटहरूको महत्वपूर्ण भूमिका रहेको विश्वास गरिन्छ । यस्तोमा अमेरिकाको सत्ता परिवर्तनले बंगलादेशको राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिएको छ । ट्रम्पको कार्यकालमा बंगलादेशले पहिलेजस्तो समर्थन प्राप्त गर्न सक्ला भन्ने प्रश्न अहिले उब्जिएको छ ।

अवामी लिगकी प्रमुख शेख हसिनाले गुमाएको राजनीतिक जग फिर्ता पाउन सक्लिन् वा अमेरिका र बंगलादेशको सम्बन्ध कुन दिशामा जाला जस्ता प्रश्न पनि गरिन थालिएको छ ।

ट्रम्पको जितपछि शेख हसिनाले अवामी लिगको आधिकारिक एक्स ह्यान्डलबाट बधाई दिएकी थिइन् । उनले ट्रम्पसँग आफ्नो तस्बिर पनि शेयर गरेकी छिन् । ट्रम्पको शानदार जित उनको नेतृत्व र अमेरिकी जनताको उनीमाथिको विश्वासको प्रमाण भएको पनि हसिनाले लेखेकी छन् । ट्रम्पको दोस्रो कार्यकालमा बंगलादेश र अमेरिकाबिचको मैत्रीपूर्ण र द्विपक्षीय सम्बन्ध थप मजबुत हुने आशा पनि हसिनाको छ ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । त्यतिबेला बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले दुःख व्यक्त गर्दै ट्रम्पको विजयलाई सूर्यग्रहण र कालो दिन जस्तै भएको बताएका थिए ।

ट्रम्पलाई सल्लाह दिँदै उनले पर्खालको सट्टा पुल निर्माण गरेर थप उदारवादी दृष्टिकोण अपनाउन भनेका थिए । युनुसलाई अमेरिकामा डेमोक्रेटसँग नजिक रहेको ठानिएको छ ।

‘जब बंगलादेशमा सत्ता परिवर्तन भयो र मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाइयो, त्यतिबेला उनी डेमोक्रेट, बाइडेन प्रशासन र हिलारी क्लिन्टनसँग मिलेर काम गरिरहेका थिए । उनलाई यो भूमिकामा ल्याउनमा अमेरिकाको महत्वपूर्ण भूमिका छ,’ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका दक्षिण एशियाली अध्ययनका प्रोफेसर सञ्जय भारद्वाजले बीबीसी हिन्दीलाई भनेका छन् ।

नयाँ भूमिकामा आएपछि युनुसको अमेरिका भ्रमणको पनि धेरै चर्चा भएको छ । सेप्टेम्बर २५ मा उनले क्लिन्टन ग्लोबल इनिसिएटिभ कार्यक्रममा भाग लिन अमेरिका गएका थिए । उक्त कार्यक्रममा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन पनि उपस्थित थिए ।

‘अब अमेरिकामा सत्ता परिवर्तन भएको छ । डेमोक्रेटको सट्टा रिपब्लिकनको सरकार छ । यस्तो अवस्थामा सबैभन्दा ठुलो प्रश्न यही उठ्छ कि ट्रम्पले बाइडेन प्रशासनको समयमा भएका नीतिहरूलाई निरन्तरता देलान् कि त्यसमा केही परिवर्तन गर्लान् ?’, भारद्वाज भन्छन् ।

‘पहिले अमेरिकाले भारतको दृष्टिकोणलाई ध्यानमा राखेर दक्षिण एसियालाई एक एकाइको रूपमा हेथ्र्याे, तर जो बाइडेन प्रशासनले बंगलादेशलाई स्वतन्त्र एकाइको रूपमा हे¥यो । यसको असर बंगलादेशमा सरकार परिवर्तन भयो,’ भारद्वाज भन्छन् ।

हसिना र ट्रम्पको कार्यकाल

हसिना र ट्रम्पको कार्यकालमा अमेरिका–बंगलादेश सम्बन्धमा कुनै तनाव नभएको बंगलादेशको बंगाली भाषाको दैनिक पत्रिका प्रथम आलोका राजनीतिक सम्पादक कादिल कल्लोल भन्छन् । बंगलादेशमा त्यतिबेलाको निर्वाचन प्रक्रियाबारे धेरैले प्रश्न उठाए पनि ट्रम्प प्रशासनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने अपिलबाहेक आधिकारिक रूपमा केही नभनेको बीबीसीसँग कुरा गर्दै उनले बताए । दुई देशबिच व्यापार र वार्ता जारी रहेको पनि कल्लोल बताउँछन् ।

यी सबै घटनाक्रम हेर्दा अब के हुने हो भन्ने जिज्ञासा सबैमा छ । ‘डोनाल्ड ट्रम्पको उपमहाद्वीपलाई हेर्ने दृष्टिकोण फरक छ किनभने उनी नरेन्द्र मोदीसँग धेरै नजिक छन्,’ बीबीसीसँग कुरा गर्दै एनटीभी बंगलादेशका वरिष्ठ टिभी पत्रकार वर्षाेन कबीरले भनेका छन् ।

भारत र बंगलादेश ऐतिहासिक रूपमा असल छिमेकी भएकाले ट्रम्प राष्ट्रपति बन्नुले आम जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने र आफूरू सबैले यही आशा गरेका पनि कबीरले बताउँछन् ।

कबीर भन्छन्, ‘ट्रम्प राष्ट्रपति बन्नुले भारत–बंगलादेश सम्बन्धमा खासै नोक्सान हुँदैन भन्ने आशा गर्न सकिन्छ तर अवामी लिग अहिले के सोचिरहेको छ, कसैलाई थाहा छैन ।’

ट्रम्पको दीपावली सन्देश

राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा केही अघि दीपावलीको अवसरमा ट्रम्पले सन्देश जारी गरेका थिए । बंगलादेशी हिन्दु र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबारे सामाजिक सञ्जाल एक्समा उनले लेखेका थिए, ‘बंगलादेशमा हिन्दु, इसाई र अन्य अल्पसंख्यकमाथि भएको बर्बर हिंसाको म कडा शब्दमा निन्दा गर्दछु । भिड उनीहरूमाथि आक्रमण गरिरहेको छ, लुटपाट गरिरहेको छ, जुन पूर्ण अराजकताको अवस्था हो ।’

आफ्नो अघिल्लो कार्यकालमा यस्तो कहिल्यै नभएको तर कमला र जो बाइडेनले अमेरिकासहित विश्वभरका हिन्दुहरूलाई बेवास्ता गरेको उनले लेखेका थिए ।

बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको अत्याचारबारे बोल्ने ट्रम्प अमेरिकाका पहिलो ठुला राजनीतिज्ञ हुन् । यस मामिलामा उपराष्ट्रपति एवं राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस मौन बसेकी थिइन् ।

त्यसबेला भारतका रक्षा विज्ञ ब्रह्मा चेल्लानीले ट्रम्पले जिते भने बाइडेनको उक्साहटमा युनुसको खेल अन्त्य हुन सक्ने लेखेका थिए । मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडीज एण्ड एनालिसिसका रिसर्च फेलो स्मृति एस पटनायक पनि यस्तै कुरा भन्छिन् । ट्रम्पले दीपावलीमा हिन्दुहरूबारे दिएको अभिव्यक्तिलाई बंगलादेशको अन्तरिम सरकारको आलोचनाका रूपमा लिइएको र जे भए पनि ट्रम्पसँग युनुसको सम्बन्ध राम्रो नभएको बीबीसीसँग कुरा गर्दै उनले बताएकी थिइन् ।

तर, केही विज्ञहरूले यसलाई चुनावसँग जोडेर ट्रम्पले चुनावमा हिन्दु र भारतीय मतदातालाई लोभ्याउन यस्तो अभिव्यक्ति दिएको दाबी गरेका थिए ।
होला त हसिनाको पुनरागमन ?

बंगलादेश अहिले अस्थिर राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । हसिनाले सत्ता छोडेपछि त्यहाँ अन्तरिम सरकार छ । अबको एक वर्षभित्र निर्वाचन हुनसक्ने तर त्यसका लागि निर्वाचनको दिशामा सुधार र राजनीतिक सहमति आवश्यक रहेको बताइन्छ ।

हसिनाको पार्टीले आफ्नो हराएको राजनीतिक जग फिर्ता लिन मद्दत मिल्ने पनि जानकारहरूको भनाइ छ । हसिनाको नेतृत्वमा होस् वा उनको नेतृत्वविना, बंगलादेशमा अवामी लिग फर्किएर आउने सञ्जय भारद्वाज भन्छन् । अवामी लिगका धेरै उदार प्रजातन्त्रवादीहरू शेख हसिनालाई मन पराउँदैनन् । तर अवामी जनताले बंगलादेशमा आफूले चाहेको राजनीतिक स्थान पाउनेमा आशावादी भएको उनी बताउँछन् ।