प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेन्डा तय गर्न परराष्ट्रमन्त्री राणा नोभेम्बर २९ मा बेइजिङ जाँदै

प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेन्डा तय गर्न परराष्ट्रमन्त्री राणा नोभेम्बर २९ मा बेइजिङ जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीको तय भएको चीन भ्रमणअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले बेइजिङ भ्रमणमा जाने भएकी छिन् । प्रधानमन्त्रीको भ्रमणको एजेण्डा र कार्यक्रम टुङ्गो लगाउन परराष्ट्रमन्त्री राणा चीन जान लागेकी हुन् ।

प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा डिसेम्बर २ देखि ६ सम्म चीनको पाँचदिने औपचारिक भ्रमण गर्ने कार्यक्रम छ । यद्यपी यसको औपचारिक घोषणा हुन बाँकी छ ।

प्रधानमन्त्रीको भ्रमणको एजेन्डा, कार्यक्रम र आधार तयार गर्न परराष्ट्रमन्त्री राणा नोभेम्बर २९ मा चीनको भ्रमण गर्नेछिन् । भ्रमणका क्रममा उनले आफ्ना समकक्षी वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टीका अन्य वरिष्ठ अधिकारी र नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी बेइजिङमा प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन् । चिनियाँ पक्षले यसअघि नै परराष्ट्रमन्त्री देउवालाई प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि निमन्त्रणा दिएको थियो ।

गत सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको साइडलाइन भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले मन्त्री राणालाई चीन भ्रमणको निमन्त्रणा गरेका थिए । नेपाली कांग्रेस र एमालेको दुई दलीय राजनीतिक संयन्त्रले पनि प्रधानमन्त्रीको भ्रमणको पूर्व तयारीको जिम्मा परराष्ट्रमन्त्री राणालाई दिएको छ ।

प्रधानमन्त्रीको भ्रमणको तयारी गर्ने जिम्मा पाएपछि मन्त्री राणाले सरोकारवालाहरूसँग पटक-पटक छलपल गरेकी हुन् ।।

मङ्गलबार उनले सम्बन्धित मन्त्रालयका अधिकारीहरूसँग नेपाल-चीन सम्बन्धका विभिन्न पक्ष, नेपालमा चिनियाँ लगानीमा सञ्चालित आयोजनाको अवस्था, सहयोगका सम्भावित क्षेत्र र प्रधानमन्त्रीको भ्रमणका क्रममा अगाडि बढ्ने थप अवसरका बारेमा छलफल गरेकी हुन् । छलफलमा मन्त्री राणाले भ्रमणका क्रममा अगाडि बढ्न सक्ने सम्भाव्य आयोजनाको सूची तयार गर्न निर्देशन दिइन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन योजनामा हस्ताक्षर र यसको फ्रेमवर्क अन्तर्गत केही नयाँ परियोजनाहरूको कार्यान्वयन गर्ने र कम्तीमा एउटा ठुलो पूर्वाधार परियोजना कार्यान्वयन गर्ने लगायतका विषय प्रधानमन्त्रीको चीन भ्रमणका सम्भावित एजेन्डा हुन् ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपालले चीनको एक्सिम बैंकसँग लिएको ऋण मिनाहा गराउने विषय पनि प्रधानमन्त्रीको भ्रमणको एजेन्डा रहेको छ ।