काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेसमा आन्दोलन हुन सक्ने चेतावनी दिएका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले मधेसका लागि महत्वपूर्ण रहेको उक्त आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।
उनले आयोजना रद्द भए मधेसका जनता आन्दोलनमा उत्रिनुको विकल्प नरहने बताए। करिब ६ वर्षअघि सुरु भएको यस आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ।
तर, हाल आयोजनाको ठेक्का रद्द भएपछि मधेसका जनता निराश बनेको उनको भनाइ छ। ब्रेकथ्रु भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि काम अघि नबढ्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने उनले बताए।
‘सुनकोशी मरिण आयोजना रद्द भयो भने त यो मधेश आन्दोलित हुने बाहेक अर्को कुनै उपाय नै हुँदैन ।करिब ६ वर्षअघि सुरु भएको आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखे पनि हाल यसको ठेक्का रद्द गरिएको छ । मधेशका लागि महत्वपूर्ण परियोजना हो । यो रोकिएका कारण प्रदेशका जनताहरू निराशा छन्। तत्काल सरकारले खुलाउने विषयमा पहल थाल्नुपर्छ र सीमा रेखा तोकिनुपर्छ ।’ उनले भने ।
मधेसको प्रमुख आयस्रोत कृषि भएकाले आयोजनालाई तत्काल अघि बढाउन र काम सम्पन्न गर्ने समयसीमा तोक्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।




प्रतिक्रिया