स्थानीय तह उपचुनावको सबै नतिजा सार्वजनिक, ४४ सिटमध्ये कुन दलले कति जिते?

स्थानीय तह उपचुनावको सबै नतिजा सार्वजनिक, ४४ सिटमध्ये कुन दलले कति जिते?

फाइल तस्विर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार भएको स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएकाे छ । जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको हाे।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा पनि माओवादी उम्मेदवार निर्विरोध भएका थिए। तीन ठाउँमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार मतदान भएको थियो।

निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएकाे छ ।

कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल ५३३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४५५५ मत प्राप्त गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले ४३२७ र स्वतन्त्र उमेदवार राजमान महर्जनले २०३६ मत प्राप्त गरे ।

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उमेदवार उमा लुंगेली मगर शेर्पा विजयी भइन् । उनले  २८०५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उमेदवार निम लेकी शेर्पाले २६०० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली कांग्रेसका उमेदवार पासदिकी तामाङले १७२७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले ११८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले १०० नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी भएकी छन् । नेपाली कांग्रेसका उमेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उमेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन् । सर्केगाडमा ६८१० मतदाता रहेकामा ४५२४ मत खसेको थियो । तिमल्सिनाले १६३७ मत ल्याएर विजय हासिल गरेकी हुन् ।

उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले १५९४, नेकपा एमालेकी जाना शाहीले ११३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी संगीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उमेदवार नरेश शाहीले नौ मत प्राप्त गरे ।

निर्वाचन आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे ५५९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी मोहन खड्काले ५२५, नेपाली कांग्रेसका नवराज बस्नेतले ४०४, जनता समाजवादी पार्टीका राजकुमार राईले २०७, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले १२३ मत प्राप्त गरेका छन् ।

मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँचवटा वडामा विजयी भएको छ ।

माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सातवटा वडामा जीत हासिल गरेको छ ।

उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उमेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन् । कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहेपनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो ।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगंगा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । आयोगका अनुसार नगरपालिकाका प्रमुख एकजना, उपप्रमुख एकजना, गाउँपालिकाका अध्यक्ष दुईजना, उपाध्यक्ष चारजना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र २०२ जना गरी जम्मा ३७६ उमेदवार थिए ।

कहाँ को निर्वाचित ?

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार ३३३ मत प्राप्त गरे ।

दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही तीन हजार १२७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत प्राप्त गरे ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार २७२ मत पाई निर्वाचित भइन् ।

रुकुम (पूर्व भाग)को पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार ६२७ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उमेदवार केशकुमारी तुलाचनले दुई हजार १२८ मत मात्रै पाइन् ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन् । उनले एक हजार ७४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार ४७४ मत पाइन् ।

ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी भइन् । उनको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३५६ मत पाए ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४४० मत प्राप्त गरी विजयी ए । उनीसँग एमालेका बुद्धबहादुर लिम्बू ३६० मत प्राप्त गरी पराजित भए ।

सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरी पराजित भए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित भए ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भए । उनले ९२३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनीसँग कांग्रेसका भूलियादेवी थरुनी ५८७ मत मात्र प्राप्त गरी पराजित भए ।

डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी भए । उनको प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले २७७ मत पाए ।

धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित भए । उनको प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गरे ।

रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी हुँदा एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरेका थिए ।

गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ६५५ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले ६३१ मत पाएको आयोगले जनाएको छ ।

रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह ४६३ मत पाई पराजित भए ।

नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भए । कांग्रेसका सूर्य तामाङले ५८७ मत प्राप्त गरे ।

काठमाडौ्रं महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार ९०२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार २२० मत प्राप्त गरी पराजित भएको आयोगले जनाएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए । एमालेका हर्ष महर्जनले ४९८ मत पाए ।

वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए । उनले ७४२ मत पाउँदा स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत पाए ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार ५६० मतसहित पराजित भए ।

गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत मात्र पाए ।

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार १८४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार १५० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले ५३५ मत पाए । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उमेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी शेरबहादुर थारुले ६७८ मत पाए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाए । कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही ११५ मतमा सीमित भइन् ।

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाए ।दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाए । रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए ।

बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मतमा सीमित भए ।डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ एक मत पाए ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मतमा सीमित भए । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार १०७ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मत ल्याए ।