काठमाण्डु-माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै स्थानीय तहको उपनिर्वाचन लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।
बिहिवार बिहान बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको समीक्षा गर्दै निर्वाचनमा माओवादीको जनमत राम्रो आएको ठहर गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले स्थानीय तहको उपनिर्वाचनमा पार्टी कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको बताए । उनले आगामी जितका लागि उपनिर्वाचनले थप आधार दिएको बताए ।
‘उपनिर्वाचनबाट माओवादी दोस्रो स्थानमा आएको छ । २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर निर्वाचनमा गएको छ’, उनले भने । सापकोटाले भने, ‘अबको सबै तयारी भनेको २०८४ को निर्वाचन जित्नका लागि हो । अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजान्छौं । हामी बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’
बैठकले मंसिर २७ गते स्थायी कमिटी बैठक बोलाएको छ । यस्तै मंसिर २३ र २४ गते हुने अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गरेको छ ।
यसबारेमा निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाइएको हो । उमेरहद र निर्वाचन प्रक्रिया सम्बन्धमा स्थायी समितिले मोडिलाटी बनाएर तिथि मितिबारे निर्णय गर्नेछ ।
यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किँदा स्थगित भएको थियो । नेतृत्वको छनोटलाई लिएर पार्टीका शीर्ष नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि विवाद समाधानको मुद्दा पेचिलो बन्दै गएको विद्यार्थी नेताहरूको गुनासो छ ।




प्रतिक्रिया