काठमाण्डु – निर्वाचन आयोगले पर्सि मंसिर २३ गतेदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य गर्ने भएको छ ।
शुक्रबार आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यसञ्चालन गर्ने निर्णय गरिएको छ ।
यसअघि स्थानीय तह उपनिर्वाचन २०८१ प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा उपनिर्वाचन सम्पन्न भई परिणाम प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।
कुनै व्यक्ति पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भए पनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आयोगको वेबसाइटमा रहेको प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्नुका साथै नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नको लागि नागरिकता, बसाइँसराइँ वा विवाह दर्ताको प्रमाणपत्र समेत आयोगको उल्लिखित प्रणालीमा प्रविष्ट गर्नुपर्ने जनाएको छ ।
कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए दोहोरो हटाउने, मृत्यु तथा बसाइँसराइँको विवरण अद्यावधिक गर्ने लगायतका मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्य गर्नका लागि आयोगको उल्लिखित प्रणालीमा गई आवेदन गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया