निर्धारित मितिभन्दा अघि नै बन्यो मोटरेबल पुल

निर्धारित मितिभन्दा अघि नै बन्यो मोटरेबल पुल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत-मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ । गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरेका हुन् । डिमुवा–राम्जा चित्रे सडकखण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिनाअगावै गत भदौमा सम्पन्न भएको थियो ।

पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समयअगावै सम्पन्न गरेकामा निर्माण व्यावसायीको प्रशंसा गरे ।

चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडक निर्माणका चरणमा रहेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने उनले विश्वास दिलाएका छन्। पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको छ ।

१८ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०८० असोज २२ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिङ्गल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । दुई करोड ५३ लाख रुपैयाँ लागतमा निर्मित पुल कस्तुरी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । पुलको भारबहन क्षमता ७० टन रहेको छ ।

अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीबाट सहज वातावरण निर्माण भएकाले निर्धारित समयभन्दा छ महिनाअगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिए ।

यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं. ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं. ११ पकुवा र वडा नं. १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् ।

पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । विगत वर्षहरूमा वर्षायाममा खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रूपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ ।

स्थानीय सडक पुल कार्यक्रम एलआरविपी र प्रादेशिक सडक पुल सहयोग एकाइ पिआरवी एसयुको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । पुल उद्घाटनका क्रममा जग्गादाता तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।