काठमाण्डु-बीआरआईमा ऋण नलिने भन्दै आएको नेपाली कांग्रेसले आफनो अडानमा कायमै रहेको जनाएको छ ।
कांग्रेसले बीआरआई अन्तर्गतका परियोजनाहरू सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने फेरि स्पष्ट पारेको छ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समितिको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै दृष्टिकोणमा परिवर्तन नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङमा भनेर सहमति भएको भन्दै त्यसअन्र्तगत पनि अनुदानबाट परियोजना सञ्चालन गर्न सकिने बताए । ‘बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ भनेर सहमति भयो भन्ने कुरा आएको छ’, डा. महतले भने, ‘त्यसभित्र पनि अनुदान हुन्छ ।’
उनले बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा पुन सहमति आवस्यक रहेको भन्दै त्यस्तो बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने बताए । उनले बीआरआई अन्तर्गत मात्र नभएर कुनै पनि देश र दातृ निकायका ऋण नेपालले स्वीकार गर्न सक्ने अवस्था नभएको भन्दै पोखरा विमानस्थल पनि ऋणमा बनेकाले त्यसको प्रतिफल लिन नसकिएको बताए ।
‘अहिले पनि हाम्रो भनाइ अनुदानमात्र लिने भन्ने हो । त्यो चीन सरकारको सवालमा मात्र होइन । आउने दिनमा पनि सरकार सरकारबाट प्राप्त हुने ऋणका अनेकौ सर्तहरु हुने भएकाले त्यस्ता शर्तसहति ऋण लिदा देशलाई फाइदा हुदैन भन्ने हाम्रो ठहर हो’, महतले भने, ‘हामी शर्तसहितको ऋण लिन सक्दैनौ ।’
यसैबीच बैठकले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न गर्नका लागि विधानमा व्यवस्था भएका केही विषय परिमार्जन गरेको छ । बैठकले विधानलाई परिमार्जन गर्ने प्रस्ताव आएअनुसार पारित गरिएको प्रवक्ता महतले जानकारी दिए ।
उनका अनुसार भ्रातृ संगठनहरूको अधिवेशन चैतभित्र गर्ने यसअघि नै निर्णय भइसकेको छ । सोहीअनुसार तरुण दल र किसान संघले अधिवेशनको काम अघि बढाइसकेको अवस्थामा आवश्यकताअनुसार विधानलाई परिमार्जन गरिएको उनको भनाइ छ ।




प्रतिक्रिया