उपराष्ट्रपति यादव र सार्कका महासचिव सरवरबीच भेटवार्ता

उपराष्ट्रपति यादव र सार्कका महासचिव सरवरबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेट गरेका छन् ।

सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दीगोपन सम्बन्धमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जानकारी दिएको छ ।

‘संस्थापक नेताले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सक्रियताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ,’ उपराष्ट्रपतिले यादवले भने ।

उनले सार्कका महत्त्वपूर्ण संयन्त्रका बैठक नियमित आयोजना र १९औं शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको महत्त्वबारे उल्लेख गरे । सार्कका संस्थागत निर्णय कार्यान्वयन गर्न सदस्य राष्ट्रको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेकोमा उनले जोड दिए ।

‘लोकतान्त्रिक प्रणाली, सुशासन र मानवअधिकार प्रवर्द्धनका लागि सदस्य राष्ट्रबीचको साझा प्रतिबद्धता अत्यावश्यक छ,’ उपराष्ट्रपति यादवले भने, ‘म सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु ।’

सार्कका महासचिव सरवरले अगामी ‘सार्क चार्टर डे’को लागि सबै सदस्य राष्ट्रको शुभकामना प्राप्त गरेको उल्लेख गर्दै सार्क मुलुकका विभिन्न चुनौती मिलेर सामना गर्नुपर्ने बताए । उनले भने, ‘सार्क राष्ट्रहरू सम्पन्न हुन साझा प्रयास जरुरी छ ।’