काठमाण्डु – काठमाण्डु जिल्लाका सबै क्षेत्रका व्यापार, व्यवसाय तथा बजार २४ घण्टै सञ्चालन गर्ने तयारी जिल्ला प्रशासन कार्यालयले अघि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले मंगलबार जारी गरेको सूचनाअनुसार दरबारमार्ग र ठमेलजस्ता क्षेत्र यसअघि नै २४ घण्टै खुला गर्ने निर्णय भई सञ्चालनमा रहेका छन् । अब भने काठमाण्डु जिल्लाका अन्य सम्पूर्ण क्षेत्रका व्यापार, व्यवसाय र बजारसमेत २४ घण्टै खुला गर्ने गरी रणनीतिक तयारी भइरहेको छ ।
काठमाण्डु नेपालको संघीय राजधानी तथा अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले समग्र जिल्लालाई चौबिसै घण्टा खुला गर्न भरपर्दो सुरक्षा व्यवस्था र आवश्यक न्यूनतम पूर्वाधार सुनिश्चित गर्नुपर्ने कार्यालयले जनाएको छ । त्यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ ।
यातायात, व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्था तथा सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउने उद्देश्यले तयारी भइरहेको कार्यालयले जनाएको छ ।
चौबिसै घण्टा काठमाण्डु खुला गर्ने विषयमा स्थानीय तह, विभिन्न विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिसँग समन्वयात्मक बैठक आयोजना गर्ने तयारीसमेत गरिएको छ । सम्बन्धित सबै पक्षसँग छलफल गरी बृहत् तयारी पूरा भएपछि मात्र जिल्लाका समग्र क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले हाललाई दरबारमार्ग र ठमेलजस्ता यसअघि नै चौबिसै घण्टा खुला गरिएका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीलाई भने पूर्वनिर्धारित समयभित्र मात्रै व्यापार तथा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म पुरानै समयसीमा कायम रहने कार्यालयले स्पष्ट पारेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलद्वारा जारी सूचनामा चौबिसै घण्टा सञ्चालनको व्यवस्था लागू गर्नुअघि आवश्यक सुरक्षा र पूर्वाधारको समग्र तयारी गरिने जनाइएको छ ।


प्रतिक्रिया