काठमाण्डु – सरकारको राजदूत नियुक्ति सिफारिस संघीय संसद्को संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको ८२ दिन बित्दासम्म पनि दक्षिणी छिमेकी मुलुक भारतले शंकर शर्मालाई राजदूत बनाउन एग्रिमो पठाएको छैन ।
शर्मालाई दोहर्याएर राजदूत बनाउन केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले १४ साउनमा गरेको सिफारिसलाई संसदीय सुनुवाई समितिले ४ असोजमा बहुमतले अनुमोदन गरेको थियो । शर्मालाई दोहर्याएर भारतमा राजदूत बनाएर पठाउन जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले संसदीय सुनुवाइ समितिमा फरक मत राखेका थिए ।
जसपा नेपालका सांसद अधिकारीले भारतका लागि प्रस्तावित शंकर शर्मालाई पनि राजदूत बनाउन नहुने तर्कसहित फरक मत लेखेका थिए । ‘दोहोर्याएर राजदूत नियुक्ति गरिने छैन भन्ने व्यवस्थाविपरीत शर्मालाई फेरि भारतको राजदूत सिफारिस गरिएको छ त्यसमा मेरो फरक मत रहेको हो,’ अधिकारी त्यसबेला समिति बैठकमा भनेका थिए ।
त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत शर्मालाई पुनः राजदूत नियुक्तिका लागि स्वीकृतिपत्र पठाउन औपचारिक रूपमा आग्रह गरिएको थियो । स्वीकृति पत्रलाई ‘एग्रिमो’ भनिन्छ ।
तर, भारतले शर्मा राजदूतमा संसदीय समितिबाट अनुमोदन भएको ८२ दिन बित्दासम्म पनि नियुक्तिका लागि स्वीकृति नदिएपछि परराष्ट्रमा आशंका उत्पन्न भएको छ ।
राजदूत पठाउने मुलुकले आफूले राजदूतका रूपमा पठाउँदै गरेको जानकारी सम्बन्धित मुलुकलाई दिएपछि सम्बन्धित व्यक्तिप्रति दोस्रो मुलुकको कुनै आपत्ति नरहे, सम्बन्धित देश या अन्तरराष्ट्रिय छविका हिसाबले उसको राष्ट्रिय हितविरुद्ध लाग्ने जोखिम नदेखिए, निजको व्यक्तिगत रेकर्ड आफूप्रतिकूल नभए सो देशले प्रस्तावित राजदूत आफूलाई स्वीकार्य भएको भन्दै पठाउने पत्रलाई नै एग्रिमो भनिन्छ ।
राजदूत बनाएर पठाउने मुलुकले पत्र पठाएपछि छिटोमा एक महिना र ढिलोमा तीन महिनाभित्र एग्रिमो आइसक्छ । तीन महिनासम्म पनि एग्रिमो नपठाए सम्बन्धित मुलुकले प्रस्तावित राजदूत आफूलाई अमान्य भएको भनी पठाउने मुलुकले बुझ्नुपर्छ ।
परराष्ट्र मन्त्रालयबाट कुटनीतिक च्यानलमार्फत सम्पर्क गर्दा शर्माको एग्रिमो अब पठाउँछौ भन्ने जवाफ भारतीय पक्षले दिन थालेको एक महिनाभन्दा बढी भइसकेको छ । तर आएको छैन । परराष्ट्र मन्त्रालयले अन्तिम पटक सम्पर्क गर्दा आगामी शुक्रबारसम्म एग्रिमो आइपुग्ने जवाफ भारतीय पक्षबाट आएको स्रोतले बतायो ।
‘हामीले पटक–पटक कुटनीतिक च्यानलबाट आग्रह गर्दा पनि एग्रिमो आएको छैन, यो हप्ताभित्र पठाउँछौ भनेको छ । शुक्रबारसम्म आउने सम्भावना छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
पहिलो कार्याकाल २०७८ साल चैत १४ गते भारतका लागि नेपालको राजदूतको कार्याभार सम्हालेका शर्मा २०८१ साउन १५ गते कार्यकाल सकेर नेपाल फर्किएका थिए । १४ साउनमा दोस्रो पटक राजदूतमा मन्त्रिपरिषद्ले सिफारिस गरेपछि उनी भारतबाट नेपाल फर्किएका थिए ।
यसअघिको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले शर्मालाई २४ जेठमा फिर्ता बोलाउने निर्णय गरे पनि उनी त्यसपछि करिब २ महिना भारतमै बसेका थिए ।
१७ असारमा नयाँ गठबन्धन बनेपछि कांग्रेसले भारतका लागि राजदूतमा शर्मालाई निरन्तरता दिन चाहे पनि प्रधानमन्त्री ओलीले एमाले सम्मिलित सरकारले फिर्ता बोलाउने निर्णय गरेको भन्दै अर्को नाम मागेका थिए । त्यसपछि भारतका लागि नेपालको राजदूतमा कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वमुख्यसचिव र त्यो बेला सुरक्षा परिषद्मा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका शंकरदास बैरागीको नाम अघि सारे पनि सहमति हुन नसकेपछि पुनः शर्माकै नाम टुंगिएको थियो ।
भारतले शर्माको नाममा एग्रिमो पठाउन अघिल्लो पटक पनि ढिलाइ गरेको थियो । पहिलो पटक भारतको राजदूतमा अनुमोदित भएका शर्माको करिब एक सय दिनमा मात्रै भारतले एग्रिमो पठाएको थियो । त्यही भएर यो पटक पनि ढिलाइ भएको भन्न नमिल्ने कुटनीतिका जानकारहरू बताउँछन् ।




प्रतिक्रिया