कांग्रेसले मंगलबार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने

कांग्रेसले मंगलबार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने


काठमाण्डु – नेपाली कांग्रेसले मंगलबार पार्टीका केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले मंगलबार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका पूर्वप्रम्ुख पिएल सिंहको शोकमा कार्यालय बन्द गर्ने निर्णय भएको हो । त्यस्तै बैठकले देशभरका पार्टी कार्यालयहरूमा सिंहको शोकमा पुस १,२ र ३ गते आधा झन्डा झुकाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव पौडेलले जानकारी दिए।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य सिंहको गएराति चाक्सीबारीस्थित निवासमै निधन भएको थियो।

सिंहको निधन भएको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभा आयोजना गर्ने निर्णय भएको पनि मुख्यसचिव पौडेलले जानकारी दिए।

लामो समयदेखि सर्वोच्च नेता गणेशमान सिंहको निकटमा रहेका काम गरेका सिंह प्रजातन्त्र पुनस्थापनापछि २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भएका थिए।

उनकै पहलमा २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो। सिंह २०५६ मा कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भएका थिए।