एजेन्सी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ नेता तथा कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको छ ।
खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको दुई प्रहरी अधिकारीले बताएका छन् । उनीहरूका अनुसार प्रदर्शनपछि पीटीआईका सदस्यहरूलाई पक्राउ गर्ने क्रम सुरु भएको हो ।
पूर्वप्रधानमन्त्री खानका समर्थकहरूले देशको कठिन आर्थिक अवस्था र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गर्दै आएका छन् । हजारौँ समर्थक खैबर पख्तुनख्वामा पदयात्रामा सहभागी भइरहेका बेला प्रान्तमा आतङ्कवादी गतिविधि बढ्दै गएको छ । विशेषगरी अफगानिस्तानसँग जोडिएको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती थप गम्भीर बनेको छ ।
पीटीआईका अनुसार आपत्कालीन संवैधानिक उपाय घोषणा भएको केही घण्टापछि प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई पनि पक्राउ गरिएको थियो । एक प्रशासनिक अधिकारीका अनुसार उनलाई सुरुमा आधिकारिक निवासमा ‘सुरक्षात्मक हिरासत’ मा राखिएको थियो । पछि अर्को स्थानमा सारिए पनि उनलाई कहाँ राखिएको छ भन्नेबारे खुलाइएको छैन ।
खैबर पख्तुनख्वा पीटीआईको प्रमुख राजनीतिक आधार क्षेत्र मानिन्छ । सङ्घीय सरकारले प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै सुरक्षा अवस्था सुधार नभएसम्म पीटीआई नेतृत्वको प्रान्तीय सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने दाबी गरेको छ ।
तर, पीटीआईले आपत्कालीन शासनको विरोध गर्दै यसलाई अलोकतान्त्रिक कदम र सङ्घीय सरकारद्वारा प्रान्तीय सत्ता कब्जा गर्ने प्रयासको संज्ञा दिएको छ ।
पूर्वक्रिकेट खेलाडीसमेत रहेका इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । सन् २०२३ मेमा सरकार र सैन्य प्रतिष्ठानविरोधी हिंसात्मक प्रदर्शन भएपछि उनीमाथि भ्रष्टाचार तथा हिंसा भड्काएको लगायतका आरोप लगाइएको थियो । खान र उनको कानुनी टोलीले भने ती आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको दाबी गर्दै आएका छन् ।



प्रतिक्रिया