काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को वैधानिकताको विषयमा उठाइएका विवादलाई निराधार बताएका छन् ।
प्रधानमन्त्री ओलीले एनआरएनएको वर्तमान कार्यसमिति नै वैधानिक भएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरूको संस्थाको वैधानिकता बारेमा पटक पटक विवाद गर्न उचित नहुने जनाउँदै संस्थाको भविष्यको लागि एकता र समन्वयको आवश्यकता रहेकोमा जोड दिए ।
बालुवाटारमा प्रधानमन्त्री ओली र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीबीच भएको भेटमा ओलीले सर्वोच्च अदालतको दोस्रो फैसलाले निर्वाचित कार्यसमितिलाई वैधानिकता दिइसकेको उल्लेख गरे । उनले भने, ’सर्वोच्च अदालतको फैसलाले यो संस्थाको वैधानिकता प्रमाणित गरेको छ र त्यसको आधारमा मात्रै सरकार वर्तमान कार्यसमितिलाई मान्यता दिन सक्षम भएको हो ।’
उनले नेपाली प्रवासीहरुलाई नेपालको समृद्धि र विकासमा महत्वपूर्ण योगदान दिने अवसर दिइएकोमा विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा पनि सरकारले ठूलो ध्यान दिएको र यसका लागि आवश्यक कानूनी तयारी पनि तीव्र गरिएको जानकारी दिए । उनले भने, ‘संसदको हिउँदे अधिवेशनमा गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक पेश गर्ने तयारीमा छौं । यसले गैरआवासीय नेपालीहरूको अधिकार र योगदानलाई थप मान्यता दिनेछ ।’
भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष केसीले संस्थाका पछिल्ला गतिविधि र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी समस्या र चुनौतीका बारेमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।




प्रतिक्रिया