काठमाण्डु – कास्कीका जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता नगर्ने भएको छ । कार्यालयले आज नभ्याइएको भन्दै आइतबारमात्रै मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।
न्यायाधिवक्ता कमला काफ्लेले सूर्यदर्शन सहकारी ठगीका अभियुक्तविरूद्ध पूरक अभियोग भने आइतबार मात्र दर्ता हुने बताइन्। उनले क–कसविरुद्धको पुरक प्रतिवेदन भन्नेबारे भने खुलाइनन् ।
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा रकम लगेर हिनामिना गरेको आरोप लागेका लामिछानेसहित ५ जना विरूद्धको पूरक अभियोग भने आइतबार मात्र मुद्दा दर्ता हुने भएको हो । लामिछाने, पूर्वडिआइजीपी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध आइतबार जिल्ला अदालतमा मुद्दा गरिनेछ ।
सहकारी पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो। पूर्वडिआइजी छविलाल जोशीलाई भने असोज ६ गते पक्राउ गरिएको थियो ।
पूरक अभियोग लैजाने तयारी गरिएको लामिछानेसहित ५ जनालाई हिरासतमा राख्ने हदम्याद आज सकिन्छ ।
हदम्यादको भोलिपल्ट बिदाका दिन परे त्यसपछि अदालत खुल्ने पहिलो दिन मुद्दा दर्ता गर्नुपर्ने अभ्यास छ ।
सूर्यदर्शन सहकारी ठगीमा अहिले ९ जना पुर्पक्षका लागि कारागारमा छन् भने ५ जना हिरासतमा छन्। सहकारी ठगीका मुख्य योजनाकार मानिएका जिबी राइसहित ३७ जना फरार छन्।




प्रतिक्रिया