काठमाण्डु – काठमाण्डु महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारवाहीका लागि सिफारिस गरेको छ ।
महानगरपालिकाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भ्यु टावरको नक्सा पास प्रक्रियामा अनियमितता भएको र नियम विपरीत कार्य गरेको ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाहीका लागि सिफारिस गरिएको जनाएको छ ।
काठमाण्डु महानगरपालिका–२८ पुरानो बसपार्कस्थित कित्ता नम्बर १३७३ क्षेत्रफल २३–५–३–३ जग्गामा टावर निर्माण गर्न २०७१ साल फागुन २० गते महानगरपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । निर्णयअनुसार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिसँग ३० वर्षका लागि डिजाइन, निर्माण, सञ्चालन र हस्तान्तरण गर्ने शर्तमा २ पक्षीय सम्झौता गरिएको थियो ।
२०७२ साउन २३ गते सार्वजनिक सूचना प्रकाशित गरी भदौ ६ गते प्लिन्थ लेभलसम्मको नक्सा पास गरिएको थियो । २०७३ साल साउन ३० गते सम्झौताको आधारमा ५ वर्षभित्र निर्माण सम्पन्न गरी ३० वर्षका लागि सञ्चालन गर्ने सहमति भएको थियो ।
२०७४ वैशाख ८ गते दुवै पक्षबीच गरिएको सहमतिमा प्लिन्थ लेभलभन्दा माथि निर्माण अघि बढाउन नपाइने स्पष्ट रूपमा उल्लेख गरिएको थियो तर प्लिन्थ लेभलसम्मको निर्माण सम्पन्न भएपछि प्राविधिक जाँचबुझ गरी माथिल्लो तल्लाको नक्सा पास गरिसकेपछि मात्र निर्माण अघि बढाउनुपर्ने प्रक्रियामा गम्भीर त्रुटि भएको ठहर महानगरको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘वडा कार्यालयका इन्जिनीयरको प्रतिवेदनअनुसार भवनको १२ तल्लासम्मको संरचना निर्माण भइसकेको भए पनि १९ तल्लाको नक्सा पासका लागि प्रस्ताव गरिएको देखिन्छ ।’ प्रस्ताव सम्झौतामा उल्लेखित प्रावधानहरूको उल्लंघन भएको बताइएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले २०८० साल कात्तिक १ गते नक्सा पास म्याद थप र संशोधनका लागि निवेदन दिएको थियो तर सम्झौतामा तोकिएको मापदण्ड विपरीत, सुपर स्ट्रक्चरको लागि जरिवाना लिई नक्सा पास प्रक्रिया अगाडि बढाइएको थियो । यस क्रममा १२ तल्लाको नक्सा पास प्रक्रिया रोक्नुपर्नेमा १९ तल्लाको नक्सा पासका लागि संशोधित नक्सा पेश गरिएको थियो ।’
२०७४ वैशाख ८ गतेको सहमतिको उल्लंघन गर्दै १९ तल्लाको नक्सा संशोधन प्रक्रियालाई रोकिएको थियो । यसबीचमा विद्युतीय नक्सा पास प्रणालीमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले प्रक्रिया पूरा नगरी नक्सा स्वीकृत गरेको ठहर गरिएको छ ।
२०८१ भदौ ३० गतेदेखि विभिन्न कर्मचारीहरूबीच नक्सा पास प्रक्रियाको फाइल स्थानान्तरण भएको देखिएको महानगरले जनाएको छ । यस क्रममा विभागीय प्रमुखहरू, रजिस्ट्रेसन डेस्क र वडाका इन्जिनीयरहरूले फाइल एकअर्कामा फर्वार्ड गरे पनि अन्ततः २०८१ पुस ५ गतेसम्म फाइल कुनै ठोस निर्णयविना विभागीय प्रमुखको डेस्कमै रहेको पाइएको महानगरले जनाएको छ ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ ।’
महानगरपालिकाले गुरागाईंले नियमविपरीत कार्य गरेको ठहर गर्दै सम्बन्धित निकायलाई कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ । विज्ञप्तिमा उल्लेख छ, ‘नियम विपरीत कार्य गर्ने जोसुकैलाई कानूनी प्रक्रियाअनुसार कारबाही गरिनेछ ।’




प्रतिक्रिया