एउटै कसुरमा दोस्रो पटक पक्राउ परेका भुसाल ५० हजार धरौटीमा छुटे

एउटै कसुरमा दोस्रो पटक पक्राउ परेका भुसाल ५० हजार धरौटीमा छुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एउटै कसुरमा दोस्रो पटक पक्राउ परेका डा. निकोलस भुसाललाई कास्की जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश शंकरबहादुर राईको इजलासले डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका बेला गत २९ मंसिरमा सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गरेको आरोपमा डा. भुसाललाई प्रहरीले पहिलो पटक ७ पुसमा पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेपछि छोडिएको थियो ।

अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि प्रहरीले विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस गराइएको थियो ।

भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो । थुनछेक बहसपछि न्यायाधीश राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो ।

विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पु¥याउने, गोपनीयता भंग हुने सामग्री प्रकाशन गरी सुरक्षामा प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने अभियोग भुसालमाथि लगाइएको थियो ।

भुसाल २९ मंसिरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्न पुगेका थिए । रविसँग व्यक्तिगत भेटघाट र स्वास्थ्य सल्लाह दिन भनेर गएका भुसालले सिसी टिभी मनिटरबाट फोटो खिचेका थिए । त्यही फोटोलाई राखेर भुसालले रविको पक्षमा चितवनमा उपस्थित हुन आह्वान गर्दै लेखेका थिए । त्यो पोस्ट ३ पुसमा भाइरल भएपछि सबैको ध्यान केन्द्रित भएको थियो भने प्रहरी प्रशासनको पनि आलोचना बढेको थियो ।