काठमाण्डु- रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जना विरुद्ध सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दायर भएको हो ।
सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको बताइन् । लामिछानेसहित थप १४ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको हो । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ ।
सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रवार बुझाएको थियो । सोही आधारमा मुद्दा दायरको प्रक्रिया अगाडि बढाएको हो ।
प्रहरीको अनुसार अनुसन्धान प्रतिवेदनमा लामिछानेविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ ।
त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको नाममा (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन् ।




प्रतिक्रिया