वरिष्ठ गीतकार शुभ मुकारुङको ‘यतै अल्मलिएँ’ गीति संग्रह विमोचन

वरिष्ठ गीतकार शुभ मुकारुङको ‘यतै अल्मलिएँ’ गीति संग्रह विमोचन


काठमाण्डु – वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीति संग्रह ‘यतै अल्मलिएँ’ विमोचन भएको छ ।

काठमाण्डुको पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमबीच उनको संग्रह सार्वजनिक भएको हो ।

यसअघि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’ सार्वजनिक भएको थियो ।

कार्यक्रममा विशेष अतिथिहरू वरिष्ठ गीतकार पूर्वमन्त्री एसपी कोइराला, वरिष्ठ गीतकार गीतकार संघ पूर्वअध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ गीतकार अमर बान्तु, वरिष्ठ संस्कृतिविद् भक्त राई, हेमराज राई, वरिष्ठ गीतकार श्रवण मुकारुङ, वरिष्ठ गायक दिलेन्द्र मुकारुङ, वरिष्ठ गीतकार शितल कादम्बिनी, चर्चित कवि गीतकार चन्द्र रानाहोङछा, चर्चित गीतकार विपिन किरण लगायत रहेका थिए ।

करीब साढे ३ दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको गीति संग्रह जीवनयापन, लोक सन्दर्भमा रहेको छ । लोकार्पणका दिन श्रष्टा मुकारुङका छोरा रियोङ हाङ मुकारुङको पनि जन्मदिन रहेको छ ।

कार्यक्रममा पुस्तकबारे बोल्ने क्रममा विशेष अतिथि रहेका गीतकार संघ पूर्वअध्यक्ष तथा वरिष्ठ गीतकार चुडामणि देवकोटाले भने, ‘शुभ मुकारुङ चिनाइरहनुपर्ने नाम होइन, नातिकाजीले समेत उहाँको शब्दमा संगीत गरेका छन् । उहाँको दोस्रो पुस्तक अवर्णनीय छ । गीतकार संघ आज यो उचाइमा आउनु पनि उहाँको ठूलो हात छ । लेखन यात्रामा बधाइसहित अझ शुभकामना !’

बोल्ने क्रममै वरिष्ठ गीतकार अमर बान्तुले भने, ‘गीतकार शुभ मुकारुङ र ममा उमेरले म जेठो हुँ तर सिर्जनाको हिसाबले मभन्दा जेठा हुनुहुन्छ । मैले उहाँको सिर्जनाबारे मैले बोल्ने हैसियत छैन तर उहाँको एउटा भनाइ म कुनै श्रष्टादेखि प्रभावित भएर लेख्दिनँ आफैं लेख्छु भन्ने कुरादेखि म प्रभावित भएँ । आज यसरी नै उहाँको आफ्नै क्षमताको सिर्जना निश्चित छ ।’

अर्का वक्ता वरिष्ठ संस्कृतिविद् भक्त राईले भने, ‘कुनै पनि क्षेत्रमा काम गर्न जोखिम मोल्नैपर्छ । उहाँले साहित्यिक यात्राको जिन्दगीमा जोखिम मोल्नुभयो । आजको यो चर्चा र उपलब्धि त्यसैको परिणाम हो । कुनै बेला घरायसी प्रसङ्गमा मैले सोधेको थिएँ – तपाई केमा व्यस्त हुनुभयो ? उत्तरमा आयो म ‘यतै अल्मलिएँ’ । साँच्चै आज यो ऐतिहासिक अवर्णनीय सिर्जना देखेर म जिल्ल परे । योभन्दा जिन्दगीको कमाइ अरु हुनै सक्दैन । बधाइ शुभकामना !’

विशेष अतिथि वरिष्ठ गीतकार तथा पूर्वमन्त्री एसपी कोइरालाले भने, ‘गीतहरूलाई समाजले मनोरञ्जनको साधन मात्र भनेर हेला गरेको पाइन्छ, यो गलत छ तर गीत समाजको शक्तिशाली आँखा र माध्यम हो । यस कुरालाई शुभ मुकारुङको सिर्जनाले सावित गर्दछ । करीब ३ दशकको साहित्यिक यात्रामा अझ यो गीति संग्रहले समाज स्पष्ट कोर्दछ । भोजपुरको माटोको बिरुवा हो उहाँ ।’

प्राज्ञ तथा वरिष्ठ साहित्यकार राजन मुकारुङले भने, ‘यो पुस्तकले शुभलाई अल्मल्याएको होइन, उभ्याएको छ । मैले समाजको चेत खोल्नुपर्छ भन्ने जिम्मेवारी प्रदान गरेको छ । अझ बधाइ शुभकामना !’

सिर्जनाबारे बोल्दै स्रष्टा मुकारुङले भने, ‘यतै अल्मलिएँ भन्ने साहित्यिक सिर्जना क्षेत्रमै अल्मलिएँ भन्ने पनि हो । गीतको एउटा शीर्षक पनि हो । मैले मेरो सिर्जनाबारे आफैंले यस्तो लेखें, उस्तो लेखें भन्न मिल्दैन, त्यो यहाँहरूले अनि दर्शक स्रोताले भन्ने कुरा हो । मैले जीवनयापन र लोक सन्दर्भमा लेखेको छु, सधैं हौसला, सुझाव दिनुभएकै छ, धन्यवाद ! यसपटक पनि हौसला, सुझावको साथसाथै कमी–कमजोरी पनि पाउँछु भन्ने आशा गर्दछु ।’

कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपाल अध्यक्ष वरिष्ठ गीतकार वसन्त बित्यासी थापाले गरेका थिए भने गीतकार संघ उपाध्यक्ष वरिष्ठ गीतकार रमेश कोइरालाले सञ्चालन गरेका थिए ।