काठमाण्डु-मुग्लिन सडकमा बन्द भएपछि त्रिभुवन राजपथमा समयतालिका निर्धारण

काठमाण्डु-मुग्लिन सडकमा बन्द भएपछि त्रिभुवन राजपथमा समयतालिका निर्धारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पहिरोका कारण मुग्लिन–काठमाण्डु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि सवारी आवागमन व्यवस्थित गर्न समयतालिका निर्धारण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ ।

मुग्लिन–काठमाण्डु सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको हो ।

हेटौँडाबाट काठमाण्डु जाने सवारीसाधनलाई शनिबार असोज २४ गते बिहान २ बजेदेखि ५ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ । आइतबार असोज २५ गते बिहान ४ बजेदेखि १० बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै, काठमाण्डुबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई शनिबार साँझ ६ः३० बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्न दिइनेछ । यस्तै शनिबार असोज २४ गते बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र राति १० बजेदेखि असोज २५ गते बिहान १ बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको छ ।

आइतबार असोज २५ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म पनि काठमाण्डुबाट हेटौँडातर्फ सवारीसाधन सञ्चालन गर्न पाइने छ ।

त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ । त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ ।

यस्तै कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाण्डु जाने मार्गमा साना सवारीसाधनका लागि आलोपालो समयतालिका लागू गरिएको छैन । जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ ।