अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ


काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित मकवानपुर र कैलालीबाट ३ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दिपज्योति डाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्रामसहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ दोहोरी बस्ने ४२ वर्षीय सुरेश दास थारू र पर्सागढी नगरपालिका–२ बागबना बस्ने २९ वर्षीय अर्जुन महतो थारू रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले नारायणगढबाट रौतहटतर्फ जाँदै गरेको लु१ख ७३९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सुरेशलाई ५ किलो ५६० ग्राम र अर्जुनलाई ५ किलो ४४० ग्राम गाँजासहित पक्राउ गरेको छ ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१ अस्पताल रोडबाट अवैध लागूऔषध ब्राउन सुगर १०० मिलिग्रामसहित सोही ठाउँ बस्ने डडेल्धुराको अजयमेरू गाउँपालिका–५ घर भएका २० वर्षीय निरन्जन पन्तलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।