काठमाण्डु – राजर्षि जनक विश्वविद्यालय केन्द्रीय क्याम्पस जनकपुरधाममा अध्ययनरत अखिल क्रान्तिकारीका विद्यार्थीले नेपाल विद्यार्थी संघ (नेविसंघ) विरुद्ध प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले आयोजना गर्न लागेको जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय टीमको नाम समावेश गरे पनि अन्तिम समयमा हटाएको आक्रोशित विद्यार्थीले आईतबार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिको पुतला दहन गरेका छन् ।
क्रान्तिकारीका केन्द्रीय सदस्य श्याम साहको नेतृत्वमा विद्यार्थीहरूले नेविसंघविरुद्ध नाराबाजी गर्दै नेता देउवा र निधिको पुतला दहन गरेका छन् । आयोजकले राजर्षि जनक विश्वविद्यालयलाई समेत सहभागी गराउने जनाए पनि अन्तिममा नाम हटाएपछि प्रदर्शन गरिएको विद्यार्थी नेता श्याम साहले जानकारी दिए ।
शनिवार बिहानसम्म खेल तालिकामा राजर्षि जनक विश्वविद्यालयको नाम समावेश रहे पनि अन्तिम समयमा नाम हटाएको आरोप छ ।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने प्रतियोगितामा ३ देशका ८ विश्वविद्यालयका टोली सहभागी हुनेछन् ।




प्रतिक्रिया