काठमाण्डु- सरकारले ‘सगरमाथा संवाद’ घोषणा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट सगरमाथा संवाद कार्यक्रम घोषण गर्दैछन् ।
पहिलो पटक हुन लागेको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ तय भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन कार्यक्रम आयोजना गरिएको सरकारले जनाएको छ ।
यसअघि २०७६ सालमा ओली नै प्रधानमन्त्री भएको बेला यो कार्यक्रम अघि बढाइएको थियो । तर, कोभिड–१९ कारण कार्यक्रम त्यतिबेला कार्यक्रम स्थगित भएको थियो । यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
आगामी जेठ २, ३ र ४ गते सगरमाथा संवाद कार्यक्रम गर्ने तयारी सरकारले अघि बढाएको छ ।
के हो सगरमाथा संवाद
जलवायु परिवर्तनको मुद्दालाई विश्मै नेतृत्वदायी र जलवायु न्यायका लागि पैरवी गर्न सरकारले सगरमाथा संवाद कार्यक्रम ल्याएको हो । २०८२ को जेठमै सगरमाथा संवाद गर्न प्रस्ताव गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अंगका रूपमा विकास गर्ने गरी घोषणा गरी तयारीको सुरुआत गर्न लागेको मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश्वर ढकालले जानकारी दिए ।
संयुक्त राष्ट्र संघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउँदै छ । संघको प्रतिनिधित्व गर्दै विश्व मौसम संगठन र युनेस्कोले यही जनवरी २१ तारिखमा संयुक्त रूपमा अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको सुरुवात गर्दैछन् । यसै अवसरमा नेपालमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट सगरमाथा संवाद घोषणा गरिन लागिएको उनले बताए ।
परराष्ट्र र वन मन्त्रालयले विभिन्न समिति बनाएर तयारी थालेका छन् । यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
संवादमा विशेष गरी पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, जलवायु अनुसन्धानका क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषय विज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्व, मिडियाका विज्ञलगायतलाई निमन्त्रणा गरिने बताइएको छ ।




प्रतिक्रिया