उदयपुर – गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान स्थायी रूपमा रोक्न भारतसँग सहमति गर्ने बताएका छन् ।
उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलबार अनुगमन गर्दै उनले कटान कटान रोक्न आवश्यक पहल गरिने बताए ।
‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालीन योजनासहित सरकारले कदम चाल्छ,’ गृहमन्त्री लेखकले भने । तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भए पनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो ।
गृहमन्त्री लेखकले मंगलबार बेलका नगरपालिका–८ को सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोज र वडा नम्बर ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरेका छन् । तत्काल बेलकास्थित सप्तकोशी पुलदेखि ३ किलोमिटर तलसम्म अस्थायी तटबन्धको योजना तयार गरेर नियन्त्रण गरिने तथा सप्तकोशी पुलदेखि ११ किलोमिटर तल सप्तरीसम्मको क्षेत्र कटान रोक्न स्थायी योजना ल्याउने तयारी गरिएको गृहमन्त्री रमेश लेखकले बताए ।
उनीसँगै नेपाली कांग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. नारायण खड्काले समेत कटान क्षेत्रको अनुगमन गरेका थिए ।
बर्सेनि सप्तकोशीको बाढीले तटीय क्षेत्रमा कटान गर्दैआएको छ । कटानका कारण सयौं परिवार विस्थापित भएका बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए ।
‘तत्काल उच्च जोखिम रहेको ३ किलोमिटर क्षेत्रमा यसै वर्षदेखि अस्थायी रूपमा भए पनि तटबन्धको योजना अघि बढाउन गृहमन्त्री लेखकमार्फत सरकारको ध्यानाकर्षण गराएका छौं,’ उनले भने ।
गृहमन्त्री लेखकले मंगलबारै सप्तकोशी नदी कटानको अवलोकनपछि त्रियुगा नदीको कटान क्षेत्रको अनुगमन गरेका सांसद डा. खड्काले बताए ।




प्रतिक्रिया