काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन

काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै काठमाडौंको न्यूनतम तापक्रम सामान्य बढेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन भएको छ। मंगलबार न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।

केही दिनदेखि अधिकतम तापक्रम पनि बढ्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। सोमबार २० देखि २२ डिग्रीबीच रहेको अधिकतम तापक्रम बुधबार २२ देखि २४ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।