अखिल क्रान्तिकारीको निर्वाचन : माओवादी नेतापिच्छे उम्मेदवार

अखिल क्रान्तिकारीको निर्वाचन : माओवादी नेतापिच्छे उम्मेदवार


काठमाण्डु – नेकपा (माओवादी केन्द्र)को भ्रातृ विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा अध्यक्षका लागि माओवादीका नेता पिच्छे उम्मेदवार बनेका छन् । प्राय पदाधिकारी सबैले अध्यक्षमा आफ्नो उम्मेदवार उठाएका छन् ।

अध्यक्षका लागि सात जनाले उम्मेदवारी दर्ता गरेका छन् । ती मध्य सबैलाई एक पदाधिकारीले बोकेका छन् । अध्यक्ष पुष्पकमल दाहालले मिलाउन खोजे पनि नसकेपछि नेताहरूले निर्वाचनका लागि आ–आफ्ना उम्मेदवार खडा गरेका हुन् ।

मंगलबार भएको उम्मेदवार मनोनयन दर्तामा पार्टी उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतले आ–आफ्ना उम्मेदवार बनाएका छन् । अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । सबै उम्मेदवारलाई एक एक नेताले बोकेका छन् ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रौतहटका उपदेश यादवलाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।

उपमहासचिव जनार्दन शर्माले अघि सारेका भोजपुरका हेमन्त राईलाई नेता सुदन किराँतीले पनि समर्थन गरेका छन् ।

उपमहासचिव वर्षमान पुनले तनहुँका सुदिन पौडेललाई, उपमहासचिव शक्ति बस्नेतले पर्वतका विजय सापकोटालाई उम्मेदवार बनाएका छन् ।

उपाध्यक्ष पम्फा भुसालले सर्लाहीका विश्वमणि थापा र उपाध्यक्ष कृष्णबहादुर महराले डोल्पाका योगेन्द्र बुढालाई उम्मेदवार बनाएका छन् । बुढाको महरासँग पारिवारिक सम्बन्ध पनि छ ।

त्यस्तै जुम्लाकी तिर्सना हमालले पनि अध्यक्षमा उम्मेदवारी दिएकी छन् ।

माओवादी नेतृत्वले पर्वतका विजय सापकोटालाई अध्यक्ष र भोजपुरका हेमन्त राईलाई महासचिव बनाएर सहमतिमा कार्य समिति चयन गर्न खोजे पनि सम्भव नभएपछि नेतापिच्छेका उम्मेदवार भएका हुन् ।

१२ माघमा हुने नयाँ नेतृत्व चयन गर्ने निर्वाचनका लागि मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको थियो ।

अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको जानकारी दिए ।

अखिल क्रान्तिकारीको २४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य, केन्द्रीय सदस्य १६२ जनाका लागि निर्वाचन हुनेछ ।