न्याय परिषद् सदस्यमा खड्काको नाम सर्वसम्मत अनुमोदन

न्याय परिषद् सदस्यमा खड्काको नाम सर्वसम्मत अनुमोदन


काठमाण्डु – संसदीय सुनुवाइ समितिले न्याय परिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

आईतबार सिंहदरबारमा बसेको बैठकले खड्काको संसदीय सुनुवाइ गर्दै सर्वसम्मतले अनुमोदन गरेको छ ।

न्याय परिषद्को पुस २९ गतेको पत्रअनुसार सिफारिस भएका खड्कालाई न्याय परिषद् सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको सभापति ईश्वरीदेवी न्यौपानले जानकारी दिइन् ।

बैठकमा प्रस्तावित न्यायपरिषद् सदस्य खड्काले कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको छवि अभिवृद्धि गर्ने र न्यायालयको सुधार र गरिमा कायम प्रतिबद्धता जनाएका छन् ।

संविधान र कानूनप्रति आस्था राख्दै स्वतन्त्रपूर्वक काम गर्ने उनले बताए । न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा स्थापित सिफारिसका आधारलाई पारदर्शी बनाउने प्रयास रहने उनले प्रतिबद्धता जनाए ।

पुस २७ गते बसेको नेपाल बार एशोसिएशनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।